रौतहट, २६ पुस ।
रौतहटसहित मधेस प्रदेशका अधिकांश जिल्लामा शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ। विगत केही दिनदेखि निरन्तर चिसो बढ्दै जाँदा बिहान र साँझको समयमा चिसो अत्यधिक महसुस गरिएको छ।
आज बिहान रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा र पर्सा लगायतका जिल्लामा बाक्लो कुहिरो लाग्दा सवारी आवागमनसमेत प्रभावित भएको छ। कुहिरोका कारण विशेषगरी पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडक खण्डमा सवारी साधनहरू सावधानीपूर्वक सञ्चालन गर्नुपरेको छ।
मौसम चिसिँदै जाँदा दैनिक मजदुरी गर्ने श्रमिक, वृद्धवृद्धा, बालबालिका तथा गरिब तथा विपन्न समुदाय बढी प्रभावित भएका छन्। चिसोका कारण बिहानको समयमा विद्यालय जाने बालबालिका र खुला ठाउँमा काम गर्ने श्रमिकहरू समस्यामा परेका छन्।
मौसमविद्हरूका अनुसार हाल मधेस प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले केही दिनसम्म चिसो र कुहिरोको अवस्था यथावत् रहने सम्भावना रहेको छ। दिउँसो घाम लागे पनि बिहान र रातिको तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ।
स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, अत्यावश्यक बाहेक बिहान सबेरै बाहिर ननिस्कन र बालबालिका तथा वृद्धवृद्धाको विशेष हेरचाह गर्न आग्रह गरेका छन्।