काठमाडौं,३० पुस । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको कांग्रेस स्रोतले जनाएको छ। बैठकले विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई आ–आफ्नो जिम्मेवारीमा फर्किन समेत निर्देशन दिएको छ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै त्यसको आह्वान गरेका थिए। तर उनीहरू सहभागी केन्द्रीय कार्यसमितिको बैठकले भने नियमित महाधिवेशन पुस महिनामा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो। उक्त निर्णयप्रति थापा र शर्माले फरक मत राख्दै आएका थिए।
यसैबीच, निर्वाचन समितिले सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भइसकेको र अन्य पदाधिकारीको समेत मनोनयन प्रक्रिया अघि बढिसकेको जनाएको छ। पार्टीभित्रको यो निर्णयले कांग्रेसको आन्तरिक राजनीति थप तरंगित बनेको छ।