रौतहट,४ माघ । नेकपा एमालेले रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। हिजो बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारवटै क्षेत्रमा एमालेबाट उठ्ने उम्मेदवारको नाम औपचारिक रूपमा अनुमोदन गरेको हो।
केन्द्रीय कमिटीको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर १ बाट अजय कुमार गुप्ता उम्मेदवार बन्ने भएका छन्। त्यसैगरी क्षेत्र नम्बर २ बाट शैलेन्द्र साह, क्षेत्र नम्बर ३ बाट कुन्दन कुस्वाह र क्षेत्र नम्बर ४ बाट रामजी साहलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
पार्टी स्रोतका अनुसार रौतहट जिल्लामा संगठन मजबुत बनाउने र निर्वाचनमा प्रतिस्पर्धी शक्ति रूपमा प्रस्तुत हुने रणनीतिअनुसार उम्मेदवार चयन गरिएको हो। स्थानीय संगठनको सिफारिस, जनसमर्थन, राजनीतिक सक्रियता तथा पार्टीप्रतिको प्रतिबद्धतालाई आधार मानेर उम्मेदवार टुंग्याइएको एमालेले जनाएको छ।
उम्मेदवार टुंगिएसँगै रौतहटमा एमालेको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ। पार्टीले छिट्टै निर्वाचन परिचालन समिति गठन, चुनावी कार्यक्रम सार्वजनिक तथा घरदैलो अभियानलाई तीव्रता दिने तयारी गरिरहेको जनाएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रौतहट जिल्लामा बहुदलीय प्रतिस्पर्धा कडा हुने देखिएकाले एमालेको यो निर्णयले स्थानीय राजनीति थप सक्रिय बन्ने संकेत गरेको छ। अब अन्य दलहरूले समेत उम्मेदवार सार्वजनिक गर्ने क्रम बढ्ने अनुमान गरिएको छ।








