रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को संघीय सांसद पदको चुनावी प्रतिस्पर्धा यसपटक अत्यन्तै रोचक र चासोपूर्ण हुने देखिएको छ । प्रमुख दलहरूका बलिया उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै यो क्षेत्र राजनीतिक रूपमा तात्न थालेको छ ।
नेपाली कांग्रेसबाट वर्तमान सांसद देवप्रसाद तिमल्सिना, नेकपा एमालेबाट रामजी साह, नेपाली कम्युनिस्ट पार्टीबाट रामकुमार भट्टराई र जनता समाजवादी पार्टी (जसपा) बाट राजकुमार दास ले भोलि मनोनयन दर्ता गराउने तयारी गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने समाचार तयार पार्दासम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
मुख्य रूपमा रौतहट–४ मा यसपटक नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना र नेकपा एमालेका रामजी साहबीच कडा प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूको अनुमान छ । दुई पटक यही क्षेत्रबाट अत्यधिक मतसहित निर्वाचित भइसकेका तिमल्सिना तेस्रोपटक अर्थात् ह्याट्रिक जित निकाल्ने रणनीतिमा छन् । उनी यसअघि दुई पटक निर्वाचित भए पनि मन्त्री बन्न नपाएको गुनासो गर्दै आएका छन् । यसपटक जितेमा मन्त्री बन्ने सम्भावना बलियो रहेको दाबी उनका समर्थकहरूको छ ।
उता एमालेबाट उम्मेदवार बनेका रामजी साह भने पहिलोपटक संघीय सांसद बन्ने दाउमा चुनावी मैदानमा उत्रिएका छन् । साह व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन् । उनी मधेस प्रदेश सुनचाँदी व्यवसायी सङ्घका अध्यक्षसमेत हुन् । एमाले रौतहट क्षेत्र नम्बर ४ ले केन्द्रमा उद्धवप्रसाद रेग्मी, आरती भण्डारी र रामजी साह को नाम सिफारिस गरेको थियो । तर अन्तिम समयमा रेग्मी र भण्डारीले उम्मेदवारी नदिएपछि साह एक्ला उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीभित्र पनि अन्तिम समयमा उम्मेदवार फेरबदल भएको छ । सुरुमा युवराज भट्टराई ‘समिर’ ले टिकट पाउने चर्चा भए पनि सोमबार दिउँसो पार्टीले रामकुमार भट्टराई लाई उम्मेदवार बनाएको हो । भट्टराई दोस्रो संविधानसभा निर्वाचनमा यसअघि नै विजयी भइसकेका अनुभवी नेता हुन् । उनी पनि पुनः जित निकाल्ने आशासहित मैदानमा उत्रिएका छन् ।
जसपाबाट उम्मेदवार बनेका राजकुमार दास भने पहिलोपटक संसदीय चुनावमा होमिएका हुन् । स्थानीय स्तरमा परिचित भए पनि संघीय राजनीतिमा उनको परीक्षा यसपटक हुने देखिन्छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट रौतहट–४ मा पूर्व प्रशासक प्रदीप कँडेल र गणेश पौडेल मध्ये एकजनाले उम्मेदवारी पाउने अनुमान गरिएको छ । तर समाचार तयार पार्दासम्म रास्वपाले आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन ।
भोलि मनोनयन दर्ता सम्पन्न भएसँगै रौतहट क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी झन् चर्किने निश्चित देखिएको छ । अनुभवी नेता, नयाँ अनुहार र पुराना प्रतिस्पर्धीहरू एउटै मैदानमा उत्रिँदा रौतहट–४ को चुनावी नतिजा कसको पक्षमा जाने हो भन्ने विषयमा चासो बढ्दै गएको छ ।