रौतहट,६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मंगलबार देशभर मनोनयन दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारहरूले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आ–आफ्ना निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनेछन्।
यस अवसरमा देशभरका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू आ–आफ्ना समर्थकसहित उत्साहका साथ मनोनयन दर्तामा सहभागी हुँदैछन्। मनोनयन दर्तालाई मध्यनजर गर्दै विभिन्न निर्वाचन क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने निर्वाचन आयोगले शान्तिपूर्ण र मर्यादित रूपमा कार्यक्रम सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको छ।
यसैक्रममा, देशभरबाट संकलन हुने मनोनयन दर्तासम्बन्धी सम्पूर्ण गतिविधि, दलगत उम्मेदवारी, स्वतन्त्र उम्मेदवारको विवरण, रोचक राजनीतिक घटनाक्रम तथा स्थानीय तहबाट आउने अपडेटहरू रातोपाटीले प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछ। देशभर रहेका रातोपाटीकर्मीहरूको सहयोगमा तयार पारिने लाइभ अपडेटमार्फत पाठकहरूले निर्वाचनसँग सम्बन्धित हरेक पलको जानकारी एकै ठाउँमा पाउनेछन्।
प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिइँदै आएको छ। यस निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि चयन गर्ने भएकाले मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका सबै चरणलाई नागरिकले चासोका साथ हेरिरहेका छन्। रातोपाटीले यिनै गतिविधिलाई केन्द्रमा राख्दै तथ्यपूर्ण, विश्वसनीय र ताजा समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता जनाएको छ।
मनोनयन दर्ताको आजको दिनभरि देशभरका निर्वाचन क्षेत्रबाट आउने समाचार, तस्वीर र विश्लेषणका लागि रातोपाटीको लाइभ अपडेटमा जोडिनुहोस्।