रौतहट१० माघ ।
मधेस प्रदेशको रौतहट जिल्ला शिक्षाको दृष्टिले देशकै कमजोर जिल्लामध्ये पर्दै आएको छ। विभिन्न सूचकांकहरूमा रौतहट शैक्षिक उपलब्धिको अन्तिम सूचीमा रहँदै आएको अवस्थामा यहाँको शिक्षा क्षेत्र सुधार प्रमुख चुनौतीका रूपमा देखिएको छ।
यही सन्दर्भमा नेकपा एमाले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रामजी शाहले आफू चुनाव जितेमा जिल्लाको शैक्षिक स्तर उकास्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मतदातासँगको भेटघाट तथा चुनावी कार्यक्रमहरूमा बोल्दै उम्मेदवार शाहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन्।
उम्मेदवार शाहका अनुसार रौतहटमा शैक्षिक गुणस्तर कमजोर हुनुका कारण विद्यालयको भौतिक पूर्वाधार अभाव, दक्ष शिक्षकको कमी, ड्रपआउट दर उच्च हुनु तथा गरिबीका कारण विद्यार्थीहरू विद्यालय बाहिरिनु प्रमुख समस्या हुन्। यी समस्याको दीर्घकालीन समाधानका लागि आफूले नीतिगत र व्यवहारिक दुवै तहमा काम गर्ने उनको भनाइ छ।
रामजी शाहले चुनाव जितेमा सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आधुनिक कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला र डिजिटल शिक्षाको व्यवस्था गर्न पहल गर्ने बताएका छन्। साथै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम, समयमै सरुवा–पदस्थापन तथा नियमित अनुगमनको व्यवस्था गरिने उनको योजना छ।
त्यसैगरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम विस्तार, बालबालिका विद्यालयमै टिकाइराख्न अभिभावक सचेतना कार्यक्रम सञ्चालन तथा प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। “शिक्षामा लगानी नै जिल्लाको समग्र विकासको आधार हो,” भन्दै शाहले शिक्षालाई राजनीतिक नारा होइन, व्यवहारिक कार्ययोजनाका साथ अघि बढाइने बताए।
उम्मेदवार शाहले मतदातालाई आफूलाई मतदान गर्न आग्रह गर्दै भने, “रौतहटलाई शिक्षामा पछाडि पारिएको जिल्लाबाट उदाहरणीय जिल्लामा रूपान्तरण गर्नु मेरो प्रमुख लक्ष्य हो। त्यसका लागि म सक्दो प्रयास गर्नेछु।”
शिक्षा क्षेत्रमा दीर्घकालीन सुधारको अपेक्षा गरिरहेका रौतहटवासीका लागि उम्मेदवार रामजी शाहका यी प्रतिबद्धताले आगामी दिनमा शिक्षा बहसलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ।