रौतहट,११ माघ । जिल्लाको चन्द्रपुर नगरपालिकामा अवैध ढुङ्गा उत्खनन र भण्डारण खुलेआम भइरहेको पाइएको छ। चाँदी खोलाबाट अवैध रूपमा उत्खनन गरी ल्याइएका ढुङ्गाहरू नगरपालिकाका विभिन्न खाली तथा सार्वजनिक जग्गामा थुपारेर राखिँदा स्थानीय बासिन्दा आजित बनेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४, ५ र ६ का सार्वजनिक जग्गा यतिबेला ढुङ्गा व्यापारीहरूको अस्थायी गोदामजस्तै बनेका छन्। नदीजन्य पदार्थको अवैध उत्खनन गरी रातको समयमा ढुङ्गा ल्याएर स्टक गर्ने र असार–साउन लागेपछि महँगो मूल्यमा बिक्री गर्ने चलन बढ्दै गएको स्थानीयहरूको गुनासो छ।
विशेषगरी चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित चिडियादह स्टार क्लबको खेलमैदान वरिपरि ढुङ्गा थुपारिएपछि खेलकुद गतिविधिमा समेत असर परेको छ। क्लबले खेलमैदान क्षेत्र सार्वजनिक प्रयोजनका लागि रहेको भन्दै ढुङ्गा तत्काल हटाउन चेतावनी दिएको छ।
क्लबका अध्यक्ष बन्दीकुमार पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पोस्ट गर्दै सम्बन्धित निकायले समयमै चासो नदिए आफू कानुनी प्रक्रियामा जाने स्पष्ट पारेका छन्। उनले ढुङ्गा नहटाइए उजुरी दर्ता गराई कानुनअनुसार ढुङ्गा लिलामी गराउनेसम्मको कदम चालिने चेतावनी दिएका छन्।
चिडियादह स्टार क्लब मात्र नभई नगरका अन्य विभिन्न खाली तथा सार्वजनिक जग्गामा समेत ढुङ्गा व्यापारीहरूले मनोमानी रूपमा ढुङ्गा थुपारेर राखेका छन्। ढुङ्गा लोड–अनलोडका क्रममा रातभरि र बिहान सबेरै हुने ‘गन्द्रङ–गुन्द्रुम’ आवाजका कारण स्थानीय बासिन्दा सुत्नसमेत नपाएको गुनासो गर्छन्। धुलो, आवाज प्रदूषण र आवतजावतका कारण बालबालिका, वृद्धवृद्धा र बिरामीहरू बढी प्रभावित भएको बताइन्छ।
स्थानीयहरूका अनुसार यस विषयमा चन्द्रपुर नगरपालिकाले खासै चासो नदिँदा ढुङ्गा माफियाहरूको मनोबल झन् बढ्दै गएको छ। नदीजन्य पदार्थ उत्खनन, भण्डारण र बिक्रीसम्बन्धी स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै पनि अनुगमन कमजोर हुँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग भइरहेको उनीहरूको आरोप छ।
अब स्थानीय बासिन्दा, खेलकुद क्लब र सामाजिक संघसंस्थाहरू एकजुट भएर नगरपालिकासँग कडा अनुगमन र तत्काल कारबाहीको माग गर्ने तयारीमा छन्। समयमै नियन्त्रण नगरे चन्द्रपुरमा अवैध उत्खनन र सार्वजनिक जग्गा अतिक्रमण झनै फैलिने खतरा रहेको उनीहरूले चेतावनी दिएका छन्।