अशोक पहाडी
रौतहट १२ माघ ।
रौतहट क्षेत्र नं. २ अन्तर्गत परोहा नगरपालिका–९, रामपुर टोलमा सरस्वती माताको मूर्ति विसर्जन गर्ने क्रममा झडप भएको छ ।
सार्वजनिक सडक हुँदै मूर्ति विसर्जनका लागि लैजाँदै गरिएको अवस्थामा, मुस्लिम टोल नजिक प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच गइरहेको ट्याक्टरमाथि अचानक ढुंगामुढा सुरु भएको स्थानीयले बताएका छन्। उक्त घटनामा परी आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
घटनापछि सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीय सरोकारवालाहरूका अनुसार रौतहट क्षेत्र नं. २ मा मूर्ति विसर्जन वा हिन्दू समुदायका चाडपर्वका समयमा यस किसिमका झडप तथा तनावपूर्ण अवस्था पटक–पटक दोहोरिँदै आएको छ, जसले समुदायबीचको सद्भावमा नकारात्मक असर पारिरहेको छ।
धार्मिक सहिष्णुता र आपसी सम्मान कमजोर बनाउने यस्ता घटनाप्रति सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने स्थानीयको माग छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सो स्थानमा हरेक वर्ष सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप हुँदै आएको छ।