रौतहट,१५ फागुन । नेपाल एसबिआई बैंक लिमिटेड चन्द्रनिगाहपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत दलित जनजागरण विद्यालयमा अध्ययनरत २५० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा स्कूल ब्याग वितरण गरेको छ ।
चन्द्रपुर नगरपालिका–८ स्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले आर्थिक रूपमा विपन्न तथा दलित समुदायका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । अध्ययनको वातावरण सुधार गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका शाखा प्रमुख केशव खड्काले शिक्षा क्षेत्र समाज रूपान्तरणको महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन बैंकले सहयोग गरेको उल्लेख गर्नुभयो । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समय–समयमा शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउँदा उहाँहरूको मनोबल वृद्धि हुने र नियमित अध्ययनमा प्रेरणा मिल्ने विश्वास लिएको खड्काले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र चौधरीले निजी क्षेत्रले शिक्षा क्षेत्रमा देखाएको चासो सकारात्मक रहेको बताउनुभयो । सामुदायिक विद्यालयको सुदृढीकरणमा बैंक तथा वित्तीय संस्थाको सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक सोनालाल यादवले २५० जना विद्यार्थीलाई एकैपटक थान उपलब्ध गराइनु ठूलो राहत भएको बताउनुभयो । धेरै विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शैक्षिक सामग्रीसमेत अभावमा रहेको अवस्थामा बैंकको सहयोग प्रशंसनीय रहेको उहाँले जानकारी दिनुभयो । यसले विद्यार्थीमा उत्साह थप्ने र विद्यालयप्रतिको आकर्षण बढाउने उहाँको भनाइ थियो ।
कार्यक्रममा अभिभावक रामचन्द्र पासवानलगायत अभिभावकको उपस्थिति रहेको थियो । अभिभावकहरूले बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले बालबालिकाको अध्ययनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका तथा स्थानीयवासीको उपस्थितिमा वितरण गरिएका थान विद्यार्थीलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो । थान पाएपछि विद्यार्थीहरू उत्साहित देखिनुभएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा क्षेत्रमा सहयोगलाई प्राथमिकतामा राख्दै आएको छ । यस प्रकारका कार्यक्रमले सामुदायिक विद्यालय र निजी क्षेत्रबीच सहकार्यको उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताउनुभयो । सीमान्तकृत वर्गका बालबालिकालाई लक्षित गरी गरिएको सहयोग कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको भनाइ रहेको छ ।








