रौतहट, १५ फागुन । चन्द्रपुर नगरपालिका ले नेपाल मगर संघको ४४ औँ स्थापना दिवसका अवसरमा आज (शुक्रबार) स्थानीय सार्वजनिक बिदा दिएको छ ।
नगर प्रमुख स्तरीय निर्णयअनुसार बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख सञ्जय काफ्ले को हस्ताक्षरमा जारी सूचनामा नगरपालिका मातहतका सबै वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय र अन्य सम्पूर्ण कार्यालयहरूमा सार्वजनिक बिदा लागू हुने उल्लेख गरिएको छ ।
स्थानीय पर्वका रूपमा मनाइने नेपाल मगर संघको स्थापना दिवसलाई सम्मान गर्दै बिदा प्रदान गरिएको जनाइएको छ । साथै स्थापना दिवसका अवसरमा नगरपालिकाले सम्पूर्ण मगर समुदायलगायत नगरवासीमा शुभकामना व्यक्त गरेको छ ।
नगरपालिकाको निर्णयले सांस्कृतिक विविधता र सामुदायिक सद्भाव प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।