काठमाडौं । केपी शर्मा ओली पक्राउ प्रकरणपछि आन्दोलित बनेको नेकपा एमाले ले आन्दोलनका थप कार्यक्रम पार्टी केन्द्रीय कमिटी बैठकपछि तय गर्ने भएको छ ।
सोमबार माइतीघरबाट सुरु भएको विरोध र्याली नयाँ बानेश्वर पुगेर समापन गरिएको थियो । कार्यक्रममा केन्द्रीय तहका नेताहरू सहभागी भए पनि उनीहरूले कुनै सम्बोधन भने गरेनन् ।
शनिबार बिहान केपी शर्मा ओली लाई बालेन्द्र शाह नेतृत्वको सरकारको निर्देशनमा निवासबाटै पक्राउ गरिएपछि एमाले आन्दोलनमा उत्रिएको हो ।
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनलाई एमालेसहित विपक्षी दलहरूले विवादास्पद र एकपक्षीय भएको आरोप लगाएका छन् ।
उक्त प्रकरणमा नेपाली काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पनि शनिबार बिहानै पक्राउ परेका छन् ।
स्वास्थ्य परीक्षणपछि केपी शर्मा ओली लाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने रमेश लेखक लाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौं ले दुवै जनामाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप गर्ने आदेश दिएको छ ।








