रौतहट, १७ चैत ।
रौतहट जिल्ला अदालतमै घुसकाण्ड पर्दाफास भएको छ । अदालतका डिट्ठा लभकुमार सिंह ५० हजार रुपैयाँ घुससहित रंगेहात समातिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको टोलीले सिंहलाई अदालत परिसरभित्रै नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग मुद्दा मिलाइदिने नाममा उनले घुस मागेको उजुरी परेपछि अख्तियारले निगरानी बढाएको थियो ।
सोही क्रममा डिएसपी राजिव श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले रकम बुझ्दै गरेका बेला उनलाई समातेको जनाएको छ । अदालतजस्तो संवेदनशील ठाउँमै घुस लेनदेन भएपछि घटना झन् गम्भीर बनेको छ ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।