वीरगञ्ज । शिक्षाको मन्दिर मानिने विश्वविद्यालयमै ‘पास गराइदिन्छु’ भन्दै छात्रामाथि अनैतिक दबाब सिर्जना गर्ने एक कर्मचारी पक्राउ परेपछि मधेश विश्वविद्यालयको छवि गम्भीर रूपमा धुमिल बनेको छ ।
प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएसँगै विश्वविद्यालयभित्र लुकेका विकृतिहरू एकपछि अर्को गर्दै सतहमा आउन थालेका छन् । आरोप अनुसार गद्दीले एक छात्रालाई बारम्बार अनैतिक सम्बन्धको प्रस्ताव राख्दै ‘माने पास, नमाने फेल’ को धम्की दिँदै आएको खुलेको छ ।
पीडित छात्राको उजुरीअनुसार सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अशोभनीय सन्देश पठाउन थालेका थिए । प्रस्ताव अस्वीकार गरेपछि उनले सिधै शैक्षिक भविष्य समाप्त पार्ने चेतावनी दिएको उल्लेख छ ।
चैत १४ गते दर्ता भएको उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको हो । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आरोपितमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ र घटनाको गहिरो अनुसन्धान जारी छ ।
घटना बाहिरिएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका चुलिएको छ । ‘कति पीडित अझै बोल्न डराइरहेका छन् ?’ भन्ने प्रश्न उठ्न थालेको छ ।
झन् चासोको विषय त के छ भने पक्राउ परेका गद्दी उच्च राजनीतिक पहुँच भएका व्यक्तिको आफन्त रहेको चर्चा छ । यसले प्रकरणलाई थप संवेदनशील बनाएको छ र निष्पक्ष अनुसन्धान हुने वा नहुनेबारे आमचासो बढाएको छ ।
शैक्षिक संस्थाभित्रै कर्मचारीबाट यस्तो हर्कत हुनु केवल व्यक्तिगत अपराध मात्र होइन, समग्र प्रणालीमाथिको गम्भीर प्रहार हो । अब प्रश्न उठेको छ—
के विश्वविद्यालयहरू सुरक्षित छन् ? कि ‘अंकको व्यापार’ अझै गहिरो छ ?