रौतहट — सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई दुःख दिने बिचौलियाको चलखेल नियन्त्रण गर्ने क्रममा प्रहरीले चन्द्रनिगाहपुरस्थित मालपोत कार्यालयबाट एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर नगरपालिका–४ मा रहेको मालपोत कार्यालय परिसरबाट बिचौलियाको रूपमा सक्रिय रहेको आरोपमा रौतहट जिल्ला कटहरिया नगरपालिका–९ का २४ वर्षीय रितेश कुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार यादवले सेवाग्राहीलाई छिटो काम गराइदिने प्रलोभन देखाउँदै विभिन्न सेवामा अनावश्यक रूपमा हस्तक्षेप गर्ने, अतिरिक्त रकम असुल गर्ने तथा सरकारी प्रक्रिया प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सेवाग्राहीको गुनासोका आधारमा निगरानी बढाएर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रुपालाबुङले सरकारी अड्डामा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी कडाइका साथ लागिपरेको बताइन्। “सरकारी कार्यालयमा बिचौलियाको भूमिका अस्वीकार्य छ। सेवाग्राहीलाई ठगी गर्ने वा अनावश्यक झन्झट दिने जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ,” उनले स्पष्ट पारिन्।
उनका अनुसार पछिल्लो समय मालपोत कार्यालयजस्ता संवेदनशील निकायमा बिचौलियाको सक्रियता बढेको गुनासो आइरहेकाले विशेष निगरानी अभियान सञ्चालन गरिएको छ। पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको र संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले भने यस्ता कारबाहीले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र अनियमितता कम हुने अपेक्षा गरेका छन्। उनीहरूले पारदर्शी र सहज सेवा प्रवाहका लागि प्रहरी र सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नुपर्ने माग समेत गरेका छन्।