रौतहट,१४ बैशाख । चन्द्रपुर नगरपालिका–१ स्थित बागमती बजार यतिबेला लागू औषध कारोबारको ‘हटस्पट’ बन्दै गएको गम्भीर तथ्य बाहिरिएको छ। विगत करिब नौ वर्षदेखि निरन्तर रूपमा लागू औषध ‘कोरेक्स’ को खुलेआम कारोबार भइरहँदा समेत सम्बन्धित निकाय मौन बस्नुले स्थानीयमा आक्रोश चुलिएको छ।
स्थानीय बासिन्दाका अनुसार बागमती बजार, विशेषगरी पुल नजिकैको एक सामान्य देखिने चिया पसल नै लागू औषध कारोबारको ‘मुख्य केन्द्र’ बनेको छ। बाहिरबाट हेर्दा सामान्य चियापसलजस्तो देखिने उक्त स्थानभित्र भने वर्षौंदेखि कोरेक्सको अवैध बिक्री–वितरण निर्बाध रूपमा चलिरहेको आरोप छ। अचम्मको कुरा के भने, एउटै व्यक्तिले यति लामो समयसम्म यस्तो धन्धा सञ्चालन गर्दा पनि नियमनकारी निकायले ‘देखे पनि नदेखेझैं’ व्यवहार गरेको स्थानीयको गुनासो छ।
सीमावर्ती जिल्लाको खुला नाकाको फाइदा उठाउँदै लागू औषध तस्करी भइरहेको स्रोतको दाबी छ। गौर लगायत सिमावर्ती बजारबाट कोरेक्स भित्र्याइने र अत्यन्तै चालाकीपूर्ण तरिकाले माछा बोक्ने भाँडोभित्र लुकाएर बागमतीसम्म पुर्याइने गरिएको खुलासा भएको छ। यस्तो तरिकाले ल्याउँदा प्रहरी प्रशासनको आँखा छल्न सहज हुने भएकाले कारोबारीहरूलाई थप सुविधा मिलेको बताइन्छ।
स्रोतका अनुसार गौरबाट ल्याइएको लागू औषध विश्रामपुर हुँदै रेलमार्गको बाटो प्रयोग गरी बागमतीसम्म ल्याइन्छ। यो रुट अहिले लागू औषध ओसारपसारको ‘सेफ करिडोर’ जस्तै बनेको छ। अझ चिन्ताजनक कुरा के छ भने, उक्त बजार अहिले सर्लाही जिल्ला र रौतहट जिल्ला का लागू औषध प्रयोगकर्ताहरूको ट्रान्जिट पोइन्टका रूपमा विकसित हुँदै गएको छ।
स्थानीयहरू प्रहरीकै मिलेमतो बिना यस्तो दीर्घकालीन अवैध कारोबार सम्भव नहुने दाबी गर्छन्। ‘नौ वर्षदेखि एउटै ठाउँमा खुलेआम कारोबार हुँदा पनि कारबाही नहुनु आफैंमा शंका पैदा गर्ने विषय हो,’ एक स्थानीयले आक्रोश पोखे।
अझै रोचक—तर भयावह—तथ्य के भने, विगत नौ वर्षदेखि यस कारोबारमा एक महिलाको सक्रिय संलग्नता रहेको स्रोतको दाबी छ। उनको ‘नेटवर्क’ यति बलियो रहेको बताइन्छ कि, स्थानीयस्तरका निगरानी संयन्त्र मात्र होइन, सुरक्षा निकाय समेत प्रभावहीन जस्तै देखिएको छ।
यसरी बागमती बजार लागू औषध कारोबारको ‘सेफ जोन’ बन्दै जाँदा स्थानीय युवापुस्ता जोखिममा परेको चिन्ता बढ्दै गएको छ। सरोकारवाला निकाय अझै पनि मौन बसिरहने हो भने, अवस्था थप भयावह बन्न सक्ने भन्दै तत्काल कडा कारबाहीको माग उठ्न थालेको छ।








