सर्लाही, १३ वैशाख ।
सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुर गाउँ आइतबार बिहान एक्कासी परेको भीषण चट्याङले एउटा परिवारमाथि ठूलो विपत्ति ल्याएको छ।
स्थानीय ६० वर्षीय सीताराम यादवको गोठमाथि अचानक चट्याङ खस्दा उनी गम्भीर घाइते भएका छन् भने गोठभित्र रहेका पशुचौपायाको सामूहिक मृत्यु भएपछि गाउँ नै शोकमग्न बनेको छ।
बिहानको शान्त वातावरण चट्याङको कड्कडाहटसँगै एकाएक आतंकमा परिणत भएको थियो। प्रत्यक्षदर्शीका अनुसार चट्याङ सिधै यादवको गोठमा खसेपछि तुरुन्तै आगलागी भई गोठ आगोको लप्कामा बेरिएको थियो।
चट्याङबाट गम्भीर घाइते भएका यादवको टाउकोसहित शरीरका विभिन्न भागमा जलेका घाउ छन्। उनलाई तत्कालै उद्धार गरी रौतहटस्थित शुकदेव चोकको तराई अस्पतालमा उपचारका लागि भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।
उता, आगलागीले गोठभित्र रहेका १४ वटा पशुचौपाया जलेर खरानी बनेका छन्। नौ वटा बाख्रा र पाँच वटा भैँसीको घटनास्थलमै दर्दनाक मृत्यु भएको प्रहरीले जनाएको छ भने एउटा पाडा घाइते अवस्थामा भेटिएको छ।
चट्याङसँगै फैलिएको आगोले गोठ पूर्ण रूपमा ध्वस्त बनाएको छ। केहीबेरमै सबै संरचना जलेर नष्ट हुँदा परिवारको ठूलो आर्थिक क्षति भएको स्थानीयले बताएका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय हरकठवाबाट खटिएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको छ। यस घटनाले गाउँमा त्रास र शोक दुवै फैलाएको छ भने स्थानीयवासी प्राकृतिक विपत्तिप्रति थप सचेत हुनुपर्ने अवस्था देखिएको छ।