मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा तीव्र हावाहुरीको जोखिम बढेको छ। मौसम विभागले मधेशलाई अग्र स्थानमा राख्दै यहाँ सबैभन्दा बढी प्रभाव पर्ने चेतावनी दिएको छ।
विभागका अनुसार आज अपराह्न ४ बजेदेखि सुरु हुने हावाहुरी भोलि बिहान ६:४५ बजेसम्म जारी रहनेछ। यसअघि सार्वजनिक गरिएको समयतालिका संशोधन गर्दै विभागले नयाँ समय निर्धारण गरेको हो।
हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना रहेको छ। यो मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने भएकाले मधेशपछि कोशी प्रदेशका झापा र मोरङलगायतका जिल्लामा पनि प्रभाव पर्ने जनाइएको छ।
देशका धेरै भूभागमा यसको असर पर्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले विशेष अनुरोध गरेको छ। विशेषगरी मधेशका बासिन्दालाई अनावश्यक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमबाट बच्न आग्रह गरिएको छ।








