रौतहट,७ जेठ ।
रौतहटका ग्रामीण क्षेत्रमा रहेका पिच तथा ढलान सडक यतिबेला मकै सुकाउने थलोमा परिणत भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र चन्द्रनिगाहपुर–गौर सडक खण्ड बाहेक अधिकांश ग्रामीण सडकमा किसानहरूले मकै सुकाउन थालेपछि आवागमन नै प्रभावित बनेको छ ।
जिल्लाका विभिन्न गाउँका किसानहरूले मकै सुकाउन उपयुक्त सार्वजनिक स्थल वा संरचना नहुँदा बाध्य भएर सडक नै प्रयोग गरिरहेको बताएका छन् । सडकभरि मकै छरिएपछि सवारीसाधन सञ्चालनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयवासीको गुनासो छ ।
सन्तपुरका किसान राजन तिमल्सिनाले राज्यले किसानको समस्यालाई बेवास्ता गरेको आरोप लगाउँदै गाउँ–गाउँमा मकै सुकाउने छुट्टै स्थान निर्माण गर्नुपर्ने बताए । “उत्पादन बढाउन सरकारले किसानलाई प्रोत्साहन गर्छ, तर भण्डारण र सुकाउने व्यवस्थामा ध्यान दिँदैन,” उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले मुख्य राजमार्गभन्दा ग्रामीण सडकमा मकै सुकाउने गरिएको जानकारी आफूले पाएको बताए । उनले दुर्घटना सम्भावना न्यूनीकरणका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा गंगा लामाका अनुसार गाउँभित्रका सडकमा मकै सुकाइएकै कारण सवारीसाधन लिएर हिँड्न कठिन भइरहेको छ । “कतिपय ठाउँमा मोटरसाइकलसमेत निकाल्न गाह्रो छ,” उनले भने ।
रौतहटका ग्रामीण भेगका अधिकांश पिच तथा ढलान सडक अहिले मकैमय बनेका छन् । किसानको बाध्यता र राज्यको पूर्वाधार अभावले सडक नै अस्थायी कृषि स्थलमा परिणत हुँदा स्थानीय जनजीवन प्रभावित बनेको छ ।