पर्सा,१८ जेेठ । वीरगञ्जमा मदिराको मातले श्रीमतीको ज्यान लिने एक श्रीमान् अन्ततः प्रहरीको फन्दामा परेका छन्। हत्या गरेर फरार भएका रामनारायण दास तत्मा महोत्तरीमा लुकेर बसे पनि प्रहरीको आँखा छल्न सकेनन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका–७ घर भई हाल वीरगञ्ज महानगरपालिका–१० बजरङ्ग टोल बस्दै आएका ४५ वर्षीय तत्माले गत जेठ १४ गते बेलुकी मदिरा सेवनपछि आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीमाथि फलामको गलले आक्रमण गरेका थिए। टाउकोसहित शरीरका विभिन्न भागमा प्रहार गर्दा घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरेपछि उनी फरार भए। तर ‘जाँडको जोश’ मा गरिएको अपराध धेरै दिन लुक्न सकेन। जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले प्राविधिक र स्थलगत अनुसन्धान अघि बढाएपछि उनको खोजी महोत्तरीसम्म पुग्यो।
अन्ततः जेठ १६ गते दिउँसो रामगोपालपुरमै लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तत्माविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। प्रहरीको भनाइमा, अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
एकछिनको नशाले एउटा परिवार उजाडियो, अब बाँकी जीवन अदालत र जेलको ढोका धाउनुपर्ने अवस्था आएको छ।