रौतहट, १८ जेठ । रौतहटको गौर–पिपरा भित्री सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित झाझ पुल क्षेत्रमा आइतबार राति एक विद्युत् कर्मचारी लुटपाटको शिकार भएका छन्। ड्युटी सकेर घर फर्किरहेका कर्मचारीको मोटरसाइकल अज्ञात समूहले लुटेर लगेको प्रहरीले जनाएको छ।
राजदेवी नगरपालिका–१ निवासी पंकजकुमार यादवको ना २९ प २९३२ नम्बरको निलो रंगको ग्ल्यामर मोटरसाइकल राति करिब ९ः४० बजे लुटिएको हो। यादव गंगापिपरा फ्युज शाखामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हुन्।
प्रहरी स्रोतका अनुसार ड्युटी सकेर घर फर्किने क्रममा झाझ पुल नजिक पुगेका बेला अज्ञात समूहले उनलाई रोकी मोटरसाइकल लुटेर फरार भएको थियो।
घटनाबारे राति १०ः२० बजे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक (सई) जयप्रकाश पाण्डेको नेतृत्वमा टोली परिचालन गरिएको थियो। प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरू र मोटरसाइकलको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
घटनापछि स्थानीयवासीले गौर–पिपरा–समनपुर सडकखण्डमा रातिको समयमा प्रहरी उपस्थिति कमजोर रहेको गुनासो गरेका छन्। अत्यन्त व्यस्त सडक हुँदाहुँदै पनि झाझ पुल क्षेत्रमा नियमित सुरक्षा निगरानी नहुँदा यस्ता घटना बढ्न थालेको उनीहरूको दाबी छ।
स्थानीयका अनुसार झाझ पुल क्षेत्रमा स्थायी प्रहरी बिट स्थापना गरी २४ घण्टा सुरक्षा व्यवस्था मिलाउन पटक–पटक माग गरिए पनि सम्बद्ध निकायले चासो नदिँदा अन्ततः मोटरसाइकल लुटपाटजस्तो घटना भएको हो।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।