बारा,१७ जेठ । स् कोरोना संक्रमणबाट मृत्यु भएका करैयामाई गाउँपालिकाका वृद्धका परिवार र मलामीको कोरोना परीक्षण अझैं सकिएको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय बाराले शुक्रबारदेखि परीक्षण थाले पनि किट अभावमा १२ जनाको मात्रै कोरोना परीक्षण गरेर टोली फर्किएको करैयामाई गाँउपालिका वडा नम्बर ७ का अध्यक्ष विरिज चौधरीले बताए। मृतकको परिवार, आफन्त र मलामी गएका गरी ३६ जनाको परीक्षण गर्नुपर्ने भए पनि किट अभावमा सबैको परीक्षण हुन नसकेको अध्यक्ष चौधरीले बताए। संक्रमण पुष्टि भएको तीन दिनसम्म पनि कोरोना परीक्षण नभएको भन्ने समाचार प्रकाशित भएपछि टोली आएको थियो। मृतकका जेठा छोराले परिवारका १२ जनाको परीक्षण भएको र अरु आफन्त जना २२ को परीक्षण बाँकी रहेको बताए। आफन्त र मलामीहरुको परीक्षण नहुँदा त्रासमा बस्नु परेको उनको भनाइ छ। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नौ दिनमा कोरोना संक्रमण पुष्टि भएको बाराका करैयामाई गाउँपालिका ७ उमजनका मृतक परिवार अझैं घरमै छन।








