गौर,८ असार । नेपालमै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका रौतहटमा केही दिनयता क्रुवारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै घटेको छ । कुनै समय ८ हजारभन्दा बढी नागरिक क्रुवारेन्टाइनमा बस्दै आएका थिए। अहिले भने १ हजार ९ सय १६ जना मात्र रहेका जिल्ला प्रशासन कार्यालयको तथ्यांकले जनाएको छ । तथ्यांकअनुसार शनिबारसम्म क्रुवारेन्टाइनबाट ९ हजार २ सय ८६ जना घर फिर्ता गइसकेका छन् ।
एक साता अघिसम्म भारतबाट घर फर्कनेहरू सीमामा लर्को लागेका हुन्थे । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार पछिल्लो एक सातामा एक जना पनि भारतबाट आएका छैनन् । भारतबाट आएकालाई स्थानीय तहको समन्वयमा प्रशासनले सोझै क्रुवारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ । संक्रमण बढ्न थालेपछि नेपाल–भारत दुवै देशले सीमा सिल गरेको थियो। भारतमा लकडाउन खुला गरिएसंगै नेपालीहरु धमाधम घर फर्केका थिए । अहिले उनीहरुमै संक्रमण बढी देखिएको छ । यता कोरोनो जितेर घर फर्कनको संख्या पनि रौतहटमा बढेको छ । शनिबारसम्म रौतहटका विभिन्न आइसोलेसनबाट घर फर्कनको संख्या ३ सय ७२ पुगेको जिल्ला अस्पताल गौरका मेसु डा.कृष्ण साहले जानकारी दिएका छन् ।
शनिबार मात्रै ४० जना गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनबाट घर फर्किएका डा. साहले जानकारी दिए । उनीहरूलाई २ हप्ता होम क्रुवारेन्टाइनमा बस्नेगरी घर पठाइएको डा. साहले बताए । रौतहटमा हालसम्म १ हजार ९४ जना कोरोना संक्रमित भेटिएका छन् । ८ हजार २ सय ९ जनाको स्वाब परीक्षण गर्न पठाइएकोमा ५ हजार ६ सय ८१ जनाको मात्रै रिपोर्ट आएको छ भने १ हजार ४ सय ३४ जनाको आउन बाँकी रहेको डा. साहले जानकारी दिए ।