जनकपुर, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) को समायोजन र पदाधिकारीको कार्यविभाजनबारे छलफल सुरु भएसँगै प्रदेश २ मा संसदीय दलको नेताको अनुहारको विषयमा बहस सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको संयुक्त सरकार बनेको प्रदेश २ मा पार्टी एकीकरण पश्चात दलको नेता बन्न प्रदेशसभा सांसदले केन्द्रीय नेतृत्वपंक्तिमा लबिङ थालेका छन् । यसअघि तत्कालीन फोरमबाट लालबाबु राउत र राजपाबाट जितेन्द्र सोनल दलको नेता चुनिएका थिए । जसमध्येबाट दलीय भागबण्डा अनुसार तत्कालीन फोरमका संसदीय दलका नेता राउत मुख्यमन्त्री र राजपाका दलका नेता सोनल भौतिक पूर्वाधार तथा विकासमन्त्री बनेका थिए । तर, पार्टी एकीकरण पश्चात जसपाको संसदीय दलका नेताका लागि यी दुइ नेता बाहेक अन्य ४ जना सांसदले समेत पार्टीको शिर्ष नेतृत्वमा लबिङ गरिरहेका छन् । उनीहरू समर्थनका लागि जसपाका प्रदेशसभा सदस्यहरूलाई आआफ्नोतर्फ तान्ने प्रयासमा जुटेका छन् । काठमाडौंमा पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र डा. बाबुराम भट्टराईलाई भेट्ने सांसदहरूको लर्को लागेको छ । मुख्यन्त्री राउतसहित प्रदेशका मन्त्री आ-आफ्ना पद जोगाउनका लागि समेत पछिल्लो समय निरन्तर काठमाडौं पुगेर आफ्ना निकट शिर्ष नेताहरूसँगको छलफलमा व्यस्त छन् ।