जनकपुर, १ असोज । स्वास्थ्य, पोषण, सौन्दर्य, वातावरण र समृद्विका लागि उपयोगी हुने भन्दै प्रदेश २ मा सोहजनको खेती अभियान सुरु गरिने भएको छ । भोर नामक संस्थाले सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट यो खेतीको प्रारम्भ गर्न लागेको हो । चन्द्रनगर गाउँपालिकाको ३० बिघा जग्गामा यो खेती निकट भविष्यमै सुरु गर्न लागिएको भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले जानकारी दिए । भर्चुअल पत्रकार सम्मेलन गर्दै महतोले सोहजन खेतीका लागि त्यहाँका किसान र गाउँपालिकाका जनप्रतिनिधिबीच छलफल भइरहेको बताए । प्रदेशका अन्य ठाउँमा यो खेती गर्नुअघि राष्ट्रियस्तरमा यसको फाइदाबारे जनजागरण अभियान संचालन गरिने उनले बताए । छलफल पश्चात तीनै तहका सरकारलाई भोर संस्थाले सोहजन खेतीबारे प्राविधिक सहयोग गर्ने उनले बताए । यो खेतीलाई व्यापकता दिन पैसा भएको निजी कम्पनीसित सहकार्य गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बजारीकरणका लागि समेत सहकार्य गर्ने महतोको भनाइ छ ।