गौर, २२ असोज । रौतहटमा एक युवतीको शव फेला परेको छ। जिल्लाको दुर्गा भगवती गाउँपालिका९४, छतौनाका महमद धुनियाकी १७ वर्षीया छोरी रोबिना मन्सुरीको शव बुधबार दिउँसो ४ बजे फेला परेको हो। छतौनाका ३३ वर्षीय फुल महम्मद, ४२ वर्षीय लाल महम्द, ५० वर्षीय नसरुद्दीन मन्सुरी र निजकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरीसहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा शव राखी फरार भएको प्रत्यक्षदर्शीले बताएका छन । किशोरीको शव राखिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगा पिपराबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । प्रहरीले फुल महम्मद र सहनाज मन्सुरीलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाहले जानकारी दिएका छन् । पक्राउ परेकाहरू मृतक युवतीका काका र काकी रहेको प्रहरी उपरिक्षक शाहले बताए ।