रौतहट,२८ पुस ।
रौतहटको विभिन्न स्थानमा बेलाबेलामा प्रहरीले अवैध रक्सीभट्टी तोडफोड गर्दै आएको छ । रौतहट जिल्लामा प्रहरी प्रमुखको सरुवा भएर आउने बित्तिकै प्रहरीको सबैभन्दा पहिलो निशाना रौतहटमा रहेका रक्सी उत्पादन गर्ने भट्टी पर्ने गरेका छन् ।
भारतको बिहार राज्यसँग सिमा जोडिएको रौतहट जिल्लामा दैनिक मदिरा सेवन गर्न भारतीय नागरिकहरू आउने गरेका कारण सीमावर्ती क्षेत्रमा अवैध मदिरा उत्पादन गर्ने भट्टी खोल्नेहरूको संख्या समेत वृद्धि हुँदै गएको छ ।
भारतीय नागरिकहरू दिउँसै खुल्ला सीमाका कारण मदिरा सेवनका लागि नेपालतर्फ आउने गरेपछि नेपालीहरुले सिमावर्ती क्षेत्रमा गुणस्तरहीन अवैध मदिरा उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । रौतहटको सीमावर्ती क्षेत्रमा मदिरा उत्पादन गर्ने भट्टीहरूसँग प्रहरीले मासिक रुपमा पैसा लिने गरेको समाचार स्रोतले बताएको छ। अखाद्य वस्तुको प्रयोग गरेर रौतहटको सिमावर्ती क्षेत्रमा उत्पादन गरिने मदिरा भट्टीबाट प्रहरीले मासिक रकम नपाए भट्टी तोडफोड गर्ने गरेको जानकारहरुको भनाइ रहेको छ ।
पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध भट्टी सञ्चालन गर्नेहरू भारतीय नै रहेको बुझिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार भारतीय नागरिकहरू मदिरा सेवन गर्न रौतहटको सिमावर्ती क्षेत्रमा आउने गरेको र उनीहरुले नै भट्टी पसल थापेर बिक्री वितरण गर्ने गरेका छन् । सीमामा रहेका अधिकांश भट्टी पसलमध्ये ९० प्रतिशत भारतीय नागरिकले नै सञ्चालन गरेका छन्। ती भट्टी पसलहरूमा भारतीय नागरिकले सेवन गर्ने लोकल रक्सी भने रौतहटकै सिमावर्ती क्षेत्रमा उत्पादन हुने गरेको छ ।
जिल्लाको राजपुर औरैया बङ्कुल कोपुवा नरकटिया लगायतका स्थानमा अहिले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने सयौं भट्टीहरु सञ्चालनमा रहेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन्। जिल्लाको कटरिया नगरपालिकाको डुमरिया गाउँमा विगत लामो समयदेखि अवैध मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेको भएपनि त्यसबाट प्रहरीले मासिक रकम लिएर देखेको नदेखेझैँ गर्ने गरेको स्थानीय बासिन्दाहरूले बताएका छन् । कटहरिया नगरपालिकाको डुमरियामा शम्भु जयसवालले विगत लामो समयदेखि अखाद्य पदार्थ मिसाएर लोकल रक्सी उत्पादन गरी रौतहटको सीमावर्ती क्षेत्रमा बिक्री वितरण गर्दै आएको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन्। जयसवालको सो मदिरा उत्पादन गर्ने भट्टीबाट इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय कटरियाका घुमाहरूले मासिक रुपमा पैसा उठाउने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।
सिमावर्ती क्षेत्रमा रहेका दर्जनौं लोकल मदिरा उत्पादन गर्ने भट्टीहरूसँग जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेका हुमवा प्रहरीले मासिक रकम संकलन गर्ने गरेको र नदिएमा तोडफोड गर्ने गरेको पाइन्छ । गौर नगरपालिकाकै विभिन्न स्थानमा अवैध रूपमा मदिराभट्टी सञ्चालन गर्नेहरूको संख्या समेत वृद्धि हुँदै गएको छ । दुई दिन पहिला मात्र जिल्ला प्रहरी कार्यालय रौतहटले गौर नगरपालिका भित्रै रहेको एक रक्सी उत्पादन गर्ने भट्टी तोडफोड गरेको थियो।
स्रोतका अनुसार प्रहरीले काम देखाउनका लागि एउटा भट्टी तोडफोड गरेको हो। गौर नगरपालिका क्षेत्रमै प्रहरीलाई नजरा नबुझाएर अवैध रूपमा मदिरा उत्पादन गर्ने ठूलो संख्यामा भट्टीहरू सञ्चालन हुँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले भने आफूहरूले अवैध रक्सी उत्पादन गर्ने भट्टी सञ्चालन रहेको सूचनाका आधारमा गौरमा रहेको एक भट्टीमा तोडफोड गरेको जनाएको थियो। रौतहटमा भारतीय ग्राहकलाई लक्षित गरी विभिन्न सिमावर्ती क्षेत्रमा अवैध रूपमा मदिरा उत्पादन गर्ने भट्टीहरू सञ्चालन हुँदै आएको भएपनि त्यसतर्फ जिल्ला प्रहरी कार्यालय रौतहटले ध्यान दिन सकेको छैन ।
दैनिक रूपमा मदिरा सेवन गर्न बिहारबाट आउने हरूका कारण सीमावर्ती बजारहरूमा दैनिक झैझगडा लगायत अपराधिक गतिविधि बढ्दै जान थालेको बङ्कुलका स्थानीय सञ्चारकर्मी आदर्श उपाध्यायले जानकारी दिएका छन् । २०८० पुस २८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।