गौर,१७ चैत । नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले देश बनाउने एकमात्र पार्टी नेकपा एमाले भएका कारण सञ्चारकर्मीले प्रेस चौतारी नेपाल रोजेको बताएका छन । प्रेस चौतारी नेपाल रौतहट शाखाले शनिबार जिल्ला सदरमुकाम गौरमा एक कार्यक्रमको आयोजना गरेको नवप्रवेशीहरूको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गुप्ताले सो कुरा बताएका हुन् । गुप्ताले देश बनाउने एकमात्र पार्टी नेकपा एमाले भएका कारण पनि पछिल्लो समय रौतहटमा विभिन्न दल सँग आबद्ध भएका सञ्चारकर्मीहरू प्रेस चौतारी नेपालमा गोलबन्द भएकोमा खुसी व्यक्त गरेका थिए । प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको सभा अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेकपा एमाले रौतहटका अध्यक्ष सचिदानन्द शाह, उपाध्यक्ष रुपेश कुमार पटेल ,जिल्ला सचिव बाबुराम दाहाल, उपसचिव अवधेशकुमार यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
विभिन्न अन्य राजनैतिक दलसँग आबद्ध रहेका सञ्चारकर्मीहरू नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालमा प्रवेश गरेका थिए । उनीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ता नेकपा एमाले रौतहटका अध्यक्ष सचिदानन्द शाह लगायतका नेताहरुले स्वागत गरेका थिए । सोही कार्यक्रममा प्रेस चौतारी नेपालले आगामी दिनमा हुने नेपाल पत्रकार महासङ्घको निर्वाचनमा प्रेस चौतारी नेपालले आफ्ना उम्मेदवारहरु उठाउने निर्णय गरेको थियो ।