चन्द्रनिगाहपुर,२३ चैत । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्राको सरुवा भएको छ । उनी डिभिजन वन कार्यालय रौतहटको प्रमुख भएर आएदेखि नै विभिन्न विवादमा तानिँदै आएका थिए । बिहीबार बिहानै उनको सरुवा भएको खबर उनले पाए लगत्तै सरुवा रोक्नका लागि विभिन्न शक्ति केन्द्रको दौडधुपमा लागेका मिश्रको अन्तत्गत केही सीप नलागेपछि उनी सरुवा भएर जान लागेका हुन् । प्रदेश सरकारका वनमन्त्रीलाई कुष्ट रकम बुझाएर डिभिजन वन कार्यालय रौतहटको प्रमुख भएर आएका मिश्र विवादमा तानिएपछि उनको मन्त्रालयले सरुवा गरेको समाचार स्रोतले बताएको छ । मिश्रा डिभिजन वन कार्यालय रौतहटमा सरुवा भएर आउने बित्तिकै खयर काण्ड तथा बागमतीको बगर अतिक्रमण काण्डको विषयले उग्र रुप लिएको थियो । मिश्राको ठाउँमा अब डिभिजन वन कार्यालय सर्लाहीमा रहेका प्रमुख मन्जुर अहमद आउने भएका छन् । प्रदेश सरकारको वन मन्त्रालयले मन्जुर अहमदलाई डिभिजन वन कार्यालय रौतहटको प्रमुख बनाएर पठाएको हो । वन क्षेत्रका स्थानीय बासिन्दाका अनुसार डिभिजन वन कार्यालयमा कार्यरत रहेका जिल्लावासी कर्मचारीको सरुवा नभएसम्म रौतहटको वन विनाश हुने पक्का रहेको छ । यस विषयमा सम्बन्धित निकायले बेलैमा चासो दिएर स्थानीय कर्मचारीको सरुवा गर्नुपर्ने माग तीव्र रुपमा उठ्दै आएको छ ।








