रौतहट,११ असोज ।
चन्द्रनिगाहपुर गौर सडक खण्डमा बिहीबार दिनभरि यात्रुवाहक बसहरू चलेनन् । ट्राफिक प्रहरीको चरम लापरवाहीका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने बसहरूमा यात्रु हुन छाडेपछि आफूहरूले बाध्य भएर बस नचलाएको उनीहरुले बताएका छन् ।
रौतहट बस व्यवसायी प्रालीसँग आबद्ध भएका यातायात व्यवसायीहरूले बिहिबारबाट चन्द्रनिगापुर गौर सडक खण्डमा चल्ने यात्रुवाहक बसहरू ठप्प पारेका हुन् ।
उनीहरूले रौतहट ट्राफिकको लापरवाहीका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा यात्रुवाहक बस चल्न नसक्ने अवस्था आएका कारण आफूहरूले त्यसको विरोधमा बस ठप्प पारेको बताएका छन् ।
ट्राफिक प्रहरीसँगको मिलेमतोमा तीनपाङ्ग्रे अटोरिक्सा मोडिफाई गरेर चारजना यात्रु बोक्ने ठाउँमा १५ जना यात्रु बोकेका कारण आफूहरूको व्यवसाय नै धरापमा परेको भन्दै उनीहरूले बस ठप्प पारेका हुन् ।
रौतहटमा चल्ने अधिकांश अटो चालकहरूसग सवारीचालक अनुमन्ती पत्रसमेत नरहेको पाइएको छ । सवारी चालक अनुमतिपत्र नभएका बिलबुक ऋण नभएका र मोडिफाई गरिएका टेम्पोका कारण बस व्यवसाय नै धरापमा परेको भन्दै उनीहरुले बस बन्द गरेका हुन् ।
ट्राफिक प्रहरीले एउटा अटोसँग गौर गरुडा र चन्द्रनिगाहपुरमा १५०० का दरले मासिक रकम असुल्ने गरेको बस व्यवसायीहरूको आरोप छ । बस व्यवसायीहरूले यस्तो आरोप लगाइरहँदा रौतहटको चन्द्रनिगापुर गौर र गडुरामा विभिन्न यी रिक्सा युनियनहरूले समेत जिल्ला ट्राफिक प्रहरी प्रमुखलाई बुझाउनुपर्छ भन्दै मासिक रकम असुल्दै आएका छन् ।
रौतहट जिल्लामा बस व्यवसाय सङ्घले ट्राफिक प्रहरीको लापरवाहीले यात्रुवाहक बस चल्न नसकेको गुनासो गरिरहेका बेला रौतहट जिल्लाको ट्राफिक व्यवस्थापन समेत वातावरण भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
ट्राफिक प्रहरीले मोडिफाई गरिएका अटोरिक्सालाई प्रतिबन्ध नलगाएसम्म आफूहरूले चन्द्रनिगाहपुर गौर सडक खण्डमा बस चलाउन नसक्ने र त्यसका विरुद्ध सशक्त रुपमा लाग्ने बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि रहेको बिटमै ट्राफिक प्रहरीले सवारी साधन रोकेर रकम असुल्ने गरेको व्यापक गुनासो आएको छ । जिल्ला सदरमुकाम गौरमा झनै ट्राफिक व्यवस्थापन ध्वस्त रहेको र त्यसको मुख्य जिम्मेवार ट्राफिक प्रहरी रहेको गौरका स्थानीय बासिन्दा तथा सञ्चारकर्मी पुष्पराज यादवले गुनासो गरे । गौर ट्राफिकले गौरसम्म आउने भारतीय नम्बर प्लेटका अटोरिक्सा तथा यी रिक्सासँग समेत मासिक रकम असुल्ने गरेको यादवको भनाइ रहेको छ ।








