चन्द्रपुर,१३ असार । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा वार्षिक खाताबन्दी तथा करसम्बन्धी अभिमुखिकरण कार्यक्रम चन्द्रपुर नगरपालिका–४ स्थित आरोही होटलको तालिम कक्षमा सम्पन्न भएको छ।

सहकारी संस्थाहरूलाई वित्तीय अनुशासन र कर प्रणालीप्रति सचेत बनाउन आयोजित एकदिने तालिमको सहजिकरण चार्टर्ड एकाउन्टेन्ट (सीए) सुमन भट्टले गर्नुभएको थियो। कार्यक्रममा रौतहट जिल्लाका २८ वटा सहकारी संस्थाबाट ३८ जना कर्मचारीको सहभागीता रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन संघका अध्यक्षले तालिम ब्यानर पढेर गर्नु भएको थियो। सहभागीहरूका तर्फबाट संकल्प साकोसका हरिप्रसाद तिमल्सिना, नव विकास साकोसकी सेविका मुक्तानलगायतले तालिम अत्यन्तै उपयोगी रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव राख्नुभयो।

समापन सत्रमा संघका संस्थापक अध्यक्ष कालिन्दी घिमिरे, पूर्व अध्यक्ष खड्ग बम्जन, चन्द्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख शेख नसरे आलम, संघका सचिव वसन्त आचार्य, कोषाध्यक्ष नरेन्द्र राना, सञ्चालक दुर्गा दाहाल, मधेश प्रदेश म्यानेजर क्लबका पूर्व अध्यक्ष यज्ञप्रसाईं, र सहजकर्ता सुमन भट्टको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन महासचिव देवबहादुर सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव वसन्त आचार्यले राख्नुभएको थियो। समापन अवसरमा अध्यक्षले कार्यक्रमको औचित्य स्पष्ट पार्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।