रौतहट,२६ असार । सहकारी अभियान केवल आर्थिक सेवामा सीमित नरही, सामाजिक उत्तरदायित्व र नागरिक जीवनस्तरमा सुधार ल्याउने दिशातर्फ अग्रसर हुँदै गएको उदाहरणका रूपमा रौतहटको चन्द्रनिगाहपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को पछिल्लो पहल सार्वजनिक भएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरूको स्वास्थ्य पहुँच सहज बनाउने उद्देश्यले नगर भित्रका दुई प्रतिष्ठित निजी अस्पतालहरूसँग उपचारमा छुट सम्बन्धी विशेष सम्झौता गरेको छ । सिम्स अस्पताल प्रा.लि. र चन्द्रपुर अस्पताल प्रा.लि. सँग सहकार्य गरेर संस्थाले आफ्ना सदस्यहरूलाई स्वास्थ्य सेवामा प्रत्यक्ष राहत पु¥याउने ढोका खोलिदिएको हो । सहकारीका अध्यक्ष राजेन्द्र तिवारीका अनुसार, ग्रामीण तथा सहरी क्षेत्रका आम नागरिक अझै पनि गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित छन्। आर्थिक अवस्था, पहुँच र जानकारीको अभावका कारण धेरै सदस्यहरू उपचारका लागि आवश्यक सेवा लिन सक्दैनन्। यस्तो परिस्थितिमा संस्थाले साझेदारी र छुट प्रणालीमार्फत आफ्ना सदस्यहरूलाई नियमित स्वास्थ्य जाँचदेखि लिएर आकस्मिक अवस्थासम्मको उपचारमा पनि सहयोग पु¥याउने उद्देश्यले यी सम्झौताहरू गरेको हो । अध्यक्ष तिवारीले भन्नुभयो, “सहकारी केवल बचत र ऋणको माध्यम हो भन्ने सोचबाट माथि उठ्दै हामी अब सामाजिक सुरक्षामा पनि योगदान दिनुपर्छ भन्ने मान्यतासहित अघि बढिरहेका छौं । यस सम्झौता मार्फत हामीले स्वास्थ्य सुरक्षाको आधार तयार गरेका छौं ।“
चन्द्रनिगाहपुरमा लामो समयदेखि सञ्चालनमा रहेको सिम्स अस्पताल प्रा.लि. ले सम्झौता अनुसार नव विकास साकोसका शेयर सदस्यहरूलाई विभिन्न स्वास्थ्य सेवामा निम्न विशेष छुट दिनेछ ः ओ.पी.डी. (बाह्य रोगी) सेवा पूर्णरूपमा निःशुल्क,ल्याब परीक्षण, एक्सरे र भिडियो एक्सरे सेवामा १० प्रतिशत छुट,अस्पतालभित्रैका फार्मेसीमार्फत औषधि खरिदमा ५ प्रतिशत छुट, सम्झौतापत्रमा अस्पतालको तर्फबाट अमित साह र सहकारी संस्था तर्फबाट अध्यक्ष तिवारीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनले सहकार्यलाई स्वागत गर्दै भविष्यमा सेवाको गुणस्तर थप सुधार गर्ने आश्वासन पनि दिएको छ ।
त्यस्तै, चन्द्रपुर अस्पताल प्रा.लि. ले नव विकास साकोसका सदस्यहरूको उपचारमा विभिन्न सेवा शिर्षकमा निम्न छुट दिनेछ ः ओ.पी.डी. टिकटमा १५ प्रतिशत छुट,ल्याब परीक्षणमा १५ प्रतिशत छुट,बेड चार्ज (सामान्य वार्ड तथा विशेष कक्ष) मा १५ प्रतिशत छुट,अपरेशन सेवामा १० प्रतिशत छुट,अक्सिजन सेवामा १५ प्रतिशत छुट,युएसजी, ईसीजी, एक्सरे, इको परीक्षणमा १० प्रतिशत छुट,फिजिओथेरापी तथा प्याथोलोजी सेवामा १५ प्रतिशत छुट,औषधि खरिदमा १० प्रतिशत छुटको
सम्झौतापत्रमा चन्द्रपुर अस्पतालका सूचना अधिकारी सरोज चौधरी र नव विकास साकोसका अध्यक्ष राजेन्द्र तिवारीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता २०७८ असार १४ गते मा भएको हो भने यो २०८४ असार १४ गते सम्म कायम रहनेछ ।
सूचना अधिकारी चौधरीले भने, “स्वास्थ्य सेवा पहुँचको अधिकार हो भन्ने मान्यतामा हामी विश्वास गर्छौं। सहकारी जस्ता संस्थासँग सहकार्य गरेर नागरिक तहसम्म सेवा पु¥याउन पाउँदा हामी गौरवान्वित छौं ।“ सहकारीका केही पुराना सदस्यहरूका अनुसार, विगतमा सानो रोग वा आकस्मिक समस्यामा पनि निजी अस्पतालको शुल्क तिर्न नसकी उपचारमा ढिलासुस्ती हुने समस्या थियो। अब छुटको सुविधाबाट सहज रुपमा अस्पताल पुग्न र गुणस्तरीय सेवा लिन सकिने विश्वास उनीहरूको छ ।