सिमरा,९ माघ । विवाहित २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका–२० बसतपुर गाउँ निवासी ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अधिवक्ता हकलाई गत माघ ४ गते सिमरास्थित एक होटेलबाट पक्राउ गरिएको भए पनि उक्त विषय सार्वजनिक गरिएको थिएन। हाल बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक जोशीका अनुसार कलैयामा ल फर्म सञ्चालन गर्दै आएका अधिवक्ता हकले एक मुद्दाको विषयमा आफ्नी सेवाग्राहीसमेत रहेकी विवाहित महिलालाई सिमराको एक होटेलमा बोलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ।
घटनापछि पीडित महिलाले आफन्तलाई खबर गरेकी थिइन्। त्यसलगत्तै आफन्तले प्रहरीलाई जानकारी गराएपछि होटेलमा छापा मारेर अधिवक्ता हकलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै पक्षको स्वास्थ्य परीक्षण गरिसकिएको र हाल अधिवक्ता हकलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनी बारा जिल्ला अदालतका पूर्व वैतनिक वकिलसमेत रहेको प्रहरीको भनाइ छ।