रौतहट,११ माघ । मधेस प्रदेशमा कुष्ठरोगको जोखिम गम्भीर बन्दै गएको छ । विशेषगरी रौतहटसहित सिराहा, धनुषा, सर्लाही, बारा र पर्सा जिल्लामा कुष्ठरोगका नयाँ संक्रमितको संख्या उच्च देखिएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यी ६ जिल्लामा मात्रै ८५७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन राजी यादवका अनुसार देशभर रहेका कुल कुष्ठरोगीमध्ये करिब ३६ प्रतिशत मधेस प्रदेशमै छन् । भारतसँगको खुला सिमाना, घना बस्ती र उच्च जनघनत्वका कारण मधेस प्रदेश कुष्ठरोगको उच्च जोखिममा रहेको उनले बताए ।
विश्व कुष्ठरोग दिवसको ७३औँ अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार, नेपालभर नयाँ कुष्ठरोगीको संख्या २ हजार ४०९ पुगेको छ । यस्तै, हाल औषधि सेवन गरी उपचार गराइरहेका कुष्ठरोगीको संख्या ८०५ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार रौतहट पनि उच्च जोखिममा रहेका जिल्लामध्ये एक हो । जिल्लागत रूपमा बारामा सबैभन्दा बढी कुष्ठरोगी भेटिएको छ भने मधेसपछि लुम्बिनी प्रदेशमा ५७९ जना कुष्ठरोगी रहेका छन् ।
कुष्ठरोगका कारण अङ्गभङ्ग भएका १५४ जनामध्ये ५८ जना मधेस प्रदेशमै रहेका छन् । नयाँ संक्रमितमध्ये १ हजार १२ जना महिला रहेका छन् भने मधेस प्रदेशमा मात्रै ३७८ जना महिला संक्रमित छन् ।
धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवका अनुसार नेपालमा सन् २०१९ मा ३ हजार २८२ रहेको कुष्ठरोगी संख्या सन् २०२४/२५ मा घटेर २ हजार ४०९ मा झरेको छ । तर, रोग लुकाउने प्रवृत्ति, सामाजिक विभेद, अभिलेख व्यवस्थापन कमजोर हुनु, सरकारी प्राथमिकतामा नपर्नु, दक्ष जनशक्तिको अभाव र खुला सिमाना जस्ता कारणले संक्रमण तथा अपाङ्गता दर अझै उच्च रहेको उनले बताए ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द शाहका अनुसार कुष्ठरोग श्वासप्रश्वासमार्फत सर्ने भएकाले संक्रमित व्यक्तिसँग हप्तामा २० घण्टाभन्दा बढी सम्पर्क भएमा संक्रमणको जोखिम बढ्ने गर्दछ ।
नेपाल सरकारले कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । नियमित रूपमा ६ महिनासम्म औषधि सेवन गरेपछि रोग निको हुने र अरूमा सर्न नदिने भएकाले समयमै पहिचान र उपचार अत्यन्त आवश्यक रहेको विज्ञहरूको भनाइ छ ।








