चन्द्रपुर, २५ माघ — रौतहट प्रहरीले लामो समयदेखि आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को असईका रूपमा परिचय दिँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको एक महिलालाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका–६ बाट पक्राउ परेकी ती महिला सर्लाही जिल्ला, कबिलासी नगरपालिका–१०, सलेमपुर टोलकी निर्मला महतो भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
प्रहरीका अनुसार उनले एकै नाम प्रयोग नगरी कतै नेहा, कतै निशा, कतै पुनम कुमारी भनेर परिचय दिँदै आफूलाई ‘CIB असई’ बताउने गर्थिन्। सोही बहानामा उनी विभिन्न व्यक्तिलाई फसाउने, लाभ उठाउने तथा ठगी गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी रुपा लाबुङका अनुसार महिलाले ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ परेकी हुन्। प्रहरीले उनको सम्पूर्ण गतिविधिबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीले जनाए अनुसार, महिलाले सरकारी निकायको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई धम्की–धम्क्याइ रकम असुल्ने तथा प्रभाव जमाउने काम गर्दै आएकी थिइन्। प्रहरीले सम्भावित पीडितहरूलाई पनि अगाडि आएर उजुरी दिन आग्रह गरेको छ।
अहिले विस्तृत अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।








