रौतहट — चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा कृषकले पालेका १४ वटा बङ्गुर एकैपटक मरेपछि स्थानीय किसानहरू त्रसित भएका छन्। बङ्गुरहरूमा स्वाइन फिभरसँग मिल्दोजुल्दो लक्षण देखिएपछि रोग फैलिन सक्ने आशंकाले पशुपालक किसानहरूमा चिन्ता बढेको हो।
स्थानीय कृषकका अनुसार केही दिनयता बङ्गुरहरूमा ज्वरो आउने, खान मन नलाग्ने, कमजोर हुँदै जाने र अचानक मर्ने जस्ता लक्षण देखिएको थियो। त्यसपछि क्रमशः १४ वटा बङ्गुरको मृत्यु भएको बताइएको छ।
पशु सेवा कार्यालय चन्द्रनिगापुरका प्रमुख सुबल चौधरीले बङ्गुरहरूमा देखिएको लक्षण स्वाइन फिभरसँग मिल्दोजुल्दो रहेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिएका छन्। उनले रोगको यकिन कारण पत्ता लगाउन थप परीक्षण आवश्यक रहेको बताए।
चौधरीका अनुसार यस्तो रोग देखिएमा छिट्टै अन्य बङ्गुरमा पनि फैलिन सक्ने जोखिम रहने भएकाले किसानहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। उनले बङ्गुर पालन गर्ने किसानहरूलाई बिरामी बङ्गुरलाई अन्य स्वस्थ बङ्गुरबाट अलग राख्न, खोरको सरसफाइमा ध्यान दिन र कुनै असामान्य लक्षण देखिए तुरुन्त पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन्।
“बङ्गुरमा देखिएको लक्षणलाई हल्का रूपमा लिनु हुँदैन। समयमै जानकारी दिएमा रोग नियन्त्रण गर्न सहज हुन्छ,” चौधरीले भने।
पशु सेवा कार्यालयले चन्द्रपुर क्षेत्रका बङ्गुर पालन किसानलाई सतर्क रहन र बङ्गुरमा ज्वरो, कमजोरी, खान नखाने वा अचानक मृत्यु हुने जस्ता लक्षण देखिएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरेको छ।
स्थानीय किसानहरूले भने पछिल्लो घटनाले ठूलो आर्थिक क्षति हुने डर बढाएको बताएका छन्। बङ्गुरपालन धेरै किसानको आयआर्जनको प्रमुख स्रोत भएकाले रोग फैलिन नदिन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग समेत उनीहरूले गरेका छन्।








