पश्चिम एसियामा बढ्दो तनावका कारण ७२ हजारभन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किनका लागि आफ्नो विवरण दर्ता गराएका छन् । आइतबार साँझसम्म परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन प्रणालीमा उक्त संख्यामा नेपालीले नाम दर्ता गराएको जनाएको छ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध खाडी क्षेत्रसम्म फैलिएको छ । इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको छ । यसका कारण त्यहाँ कार्यरत १७ लाख २९ हजारभन्दा बढी नेपालीको सुरक्षाप्रति चिन्ता बढेको छ ।
सरकारले फागुन २१ गतेदेखि स्वदेश फर्किन चाहने नेपालीहरूको विवरण संकलन सुरु गरेको थियो । कन्सुलर सेवा विभागका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार हालसम्म ७२ हजारभन्दा बढीले दर्ता गराइसकेका छन् । उनका अनुसार यो तथ्यांक समग्र खाडी क्षेत्रको हो र देशअनुसार छुट्टाछुट्टै विवरण अझै संकलन गरिएको छैन ।
दर्ता गराउनेमध्ये कतिपयको भिसा म्याद सकिएको, व्यक्तिगत तथा पारिवारिक समस्या परेको, टिकट नपाएको लगायतका कारण उल्लेख गरेका छन् । फर्किनेहरूको अन्तिम सूची सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरूले तयार पार्ने भएकाले हालसम्म कति जना स्वदेश फर्किए भन्ने यकिन तथ्यांक भने सार्वजनिक भएको छैन ।
परराष्ट्र मन्त्रालयले दूतावास तथा सरोकारवाला निकायहरूमार्फत त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको जनाएको छ । खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूलाई सम्बन्धित देशका सरकारले मोबाइल सन्देशमार्फत सुरक्षा जोखिमबारे सचेत गराइरहेका छन् ।
कतारमा कार्यरत एक नेपालीका अनुसार सुरक्षा जोखिम बढेपछि कम्पनीहरूले कामदारको आवतजावत व्यवस्थापनमा कडाइ गरेका छन् । कतिपय स्थानमा भने कार्यस्थलको अवस्थाअनुसार मात्रै काम सञ्चालन भइरहेको छ ।
२० हजार कामदार नेपालमै रोकिए
पश्चिम एसियामा बढेको युद्ध र तनावले नेपालको वैदेशिक रोजगार क्षेत्रमा पनि प्रत्यक्ष असर परेको छ । हवाई उडान प्रभावित हुनुका साथै सुरक्षा जोखिम बढेपछि सम्पूर्ण प्रक्रिया पूरा गरी भिसा आइसकेका करिब २० हजार नेपाली कामदार विदेश उड्न नपाई नेपालमै रोकिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीका अनुसार मध्यपूर्वको तनावका कारण दैनिक सयौं नेपाली वैदेशिक रोजगारीबाट वञ्चित भइरहेका छन् । सामान्य अवस्थामा वार्षिक करिब साढे तीन लाख नेपाली कामदार खाडी मुलुक जाने गरेका थिए । त्यसअनुसार मासिक करिब २५ हजार र दैनिक आठ सयदेखि नौ सय नेपाली रोजगारीका लागि उड्ने गर्थे ।
भण्डारीका अनुसार पछिल्लो २० दिनमा १८ देखि २० हजार कामदार भिसा आइसकेपछि पनि विदेश जान पाएका छैनन् । युद्ध लम्बिने संकेत देखिएकाले अहिले कामदार पठाउने अवस्था नरहेको उनले बताए ।
विदेशमा रहेका कतिपय नेपालीको भिसा म्याद सकिएको, केही बिरामी अवस्थामा रहेका तर नियमित उडान नहुँदा थप समस्या सिर्जना भएको उनले बताए । सम्पूर्ण तयारी पूरा गरी टिकट काटिसकेका कामदार नेपालमै रोकिँदा उनीहरूमाथि आर्थिक भारसमेत बढेको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षा, हित र कल्याणका लागि नेपाली नियोगहरू सक्रिय रहेको जनाएको छ । समस्यामा परेका नेपालीको उद्धार तथा सहयोगका लागि नियोगहरूले निरन्तर समन्वय गरिरहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्स, सरोकारवाला निकाय र नेपाली नियोगहरूले जारी गर्ने सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरेको छ । पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडान पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् ।
संयुक्त अरब इमिरेट्समा भने फ्लाइ दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा रहेको जनाइएको छ ।








