सर्लाही ,१० चैत । सीमावर्ती क्षेत्र फेरि एकपटक विवादको दलदलमा फसेको छ । सीमा सुरक्षाको जिम्मेवारी बोकेका सुरक्षाकर्मी नै तस्करीको जालोमा जोडिएको गम्भीर आरोप सार्वजनिक भएपछि सुरक्षा संयन्त्रमाथि नै ठूलो प्रश्नचिन्ह खडा भएको हो ।
तस्कर सन्तोष भण्डारी र सग्राम्पुर बेसका इन्सपेक्टर सुजन रानाभाटबीचको कथित ‘सेटिङ’ देखिने तस्वीर बाहिरिएसँगै जिल्लामा हलचल मच्चिएको छ । सार्वजनिक तस्वीरले रानाभाटले पदको मर्यादा बिर्सेर तस्करी गिरोहसँग साँठगाँठ गरेको आशंकालाई थप बल पुर्‍याएको छ ।
स्थानीय स्रोतका अनुसार भण्डारीले लामो समयदेखि सीमाक्षेत्रलाई आफ्नो ‘कब्जा क्षेत्र’ बनाउँदै आएका छन् । नेपालबाट चिनियाँ स्याउ, अखरोट, काठ, गिटी, मकै भारत पठाउने र भारतबाट कपडा, फूललगायतका सामान अवैध रूपमा नेपाल भित्र्याउने धन्दा निर्बाध रूपमा चल्दै आएको दाबी छ ।
सग्राम्पुर, नारायणपुर, सखुअवा र पर्सा नाका भण्डारीको प्रभाव क्षेत्रका रूपमा चिनिन थालेको स्थानीयहरू बताउँछन् ।
विवाद चर्किँदै जाँदा सग्राम्पुरका इन्सपेक्टर रानाभाटसँगै सखुअवा बेसका सशस्त्र प्रहरी सहायक निरीक्षक (सई) बाबुराम गैरे पनि तानिएका छन् । गुनासो बढेपछि दुवैलाई जिम्मेवारीबाट हटाएर गणमा तानिएको स्रोतको भनाइ छ ।
तर, जिम्मेवारी हेरफेरले तस्करी रोकिने लक्षण भने देखिएको छैन । हिजो मात्रै भारतीय एसएसबीले दुई पिकअपमा लोड गरिएको स्याउ बरामद गरी सोनवर्षा कस्टम बुझाएको घटना यसैको प्रमाणका रूपमा हेरिएको छ ।
यता, सशस्त्र प्रहरी बल नम्बर १० गणका गणपति तथा एसपी अमर खती भने आफूले कमाण्ड सम्हालेपछि सुधारको प्रयास भइरहेको दाबी गर्छन् । विवादित बेसका इन्चार्ज हटाएर अनुसन्धान अघि बढाइएको र गस्ती कडा पारिएको उनको भनाइ छ ।
“हामी सुधारका लागि आएका हौं, सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सक्रिय छौं,” उनले दाबी गरे ।
तर स्थानीयहरू भने आश्वासनमा होइन, परिणाममा विश्वास गर्न चाहन्छन् । उनीहरूका अनुसार रातको समयमा तस्करी अझै पनि निर्बाध रूपमा चलिरहेको छ ।
प्रश्न उस्तै छ—सीमा कसले जोगाउने, जब जोगाउने नै सेटिङमा भेटिन्छन् ?