अशोक पहाडी
रौतहट,११ चैत ।रुद्रप्रसाद गौतमको जीविकोपार्जनको कथा साधारण छैन, बरु प्रेरणादायी छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–बागमती सडक खण्डको पहिलो लच्कामा टेम्पोमै सानो पसल सजाएर उखुको जुस र नरिवल पानी बेच्दै आएका उनी आज आत्मनिर्भर जीवनको उदाहरण बनेका छन्।
५० वर्षीय गौतम केवल जुस बेच्ने व्यापारी मात्र होइनन्, उनी जहाँ पुग्छन् त्यहीँ व्यवसायको माहोल नै बदलिने गरेको अनुभव सुनाउँछन्। उनले सबैभन्दा पहिले काठमाडौँको पशुपति क्षेत्रमा ठेलाबाट जुस बेच्न सुरु गरेका थिए। उनको बिक्री शैली, मिठास र ग्राहकसँगको व्यवहार देखेर त्यहाँ दर्जनौँ ठेला थपिँदै गए। अन्ततः भीड व्यवस्थापनका कारण उनी त्यहाँबाट हट्न बाध्य भए।
त्यसपछि उनले गोदावरी पार्क रोजे। तर, त्यहाँ पनि उस्तै अवस्था दोहोरियो—उनको व्यापार देखेर अरू व्यापारीको भीड बढ्दै गयो। प्रतिस्पर्धा चर्किएपछि उनी सर्लाहीको भरतताल पुगे र तीन वर्षसम्म त्यहाँ जुस, नरिवल पानी र बरफ बेचेर जीवन चलाए। तर, जहाँ गए पनि उनको सफलताको ‘छाया’सँगै प्रतिस्पर्धा बढ्दै गयो। अन्ततः उनले स्थिरता खोज्दै चन्द्रनिगाहपुरको राजमार्ग छेउको लच्कालाई आफ्नो कार्यथलो बनाए।
विगत एक वर्षदेखि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म टेम्पोमै पसल सञ्चालन गर्दै आएका गौतमका मुख्य ग्राहक राजमार्ग हुँदै यात्रा गर्ने मानिसहरू हुन्। छोटो विश्राम लिँदै जुस पिउने यात्रुहरूकै सहारामा उनले मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म बचत गर्ने गरेका छन्।
उनको जीवनको सफलताको सूत्र सरल छ—निरन्तरता, धैर्य र इमानदार श्रम। उनले सानो कामलाई कहिल्यै सानो ठानेनन्। यही कमाइले उनले छोरालाई जापानमा अध्ययनका लागि पठाए भने छोरीलाई ब्याचलरसम्म पढाएर विवाह गरिदिए।
चार जनाको परिवार अहिले दुई जनामा सीमित भएको छ। “छोरा–छोरी आफ्नो बाटो लागिसके, अब हामी दुई बुढाबुढी मात्रै बाँकी छौं। दुई जनाको जीवन धान्न यो व्यापारले सहज भएको छ,” गौतम भन्छन्।
उनको कथा देखाउँछ—ठूलो सफलता सधैं ठूलो लगानीबाट आउँदैन। सानो ठाउँ, सीमित साधन र निरन्तर मेहनतले पनि जीवनलाई सम्मानजनक र सहज बनाउन सकिन्छ। गौतमका लागि जुस बेच्ने काम केवल आम्दानी होइन, आत्मनिर्भर जीवनको बलियो आधार बनेको छ।








