रुपेन्द्र पटेल
रौतहट, ९ वैशाख । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई झन्झट दिँदै विभिन्न प्रलोभनमा पारेर काम गरिदिने बहानामा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो साढे १ बजेको समयमा गौर नगरपालिका–३ स्थित यातायात व्यवस्था कार्यालय रौतहटको कम्पाउण्डभित्र सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा पुग्ने, छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिने तथा सवारी चालक अनुमतिपत्र बनाइदिने बहानामा प्रलोभन देखाउँदै वार्तालाप गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोल बस्ने अन्दाजी ४० वर्षीय लक्ष्मी कुमार केशरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार सेवाग्राहीलाई ठगी गर्ने आशंकामा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
प्रहरीले यस्ता गतिविधिबाट सचेत रहन सेवाग्राहीलाई आग्रह गर्दै कुनै पनि शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।