वीरगन्ज, २० बैशाख —
पर्सा जिल्लामा अपराधको चित्र दिनदिनै गहिरिँदै गएको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा मात्रै विभिन्न प्रकृतिका १५२ वटा उजुरी दर्ता भएपछि सुरक्षा अवस्थामाथि प्रश्न उठ्न थालेको छ।
प्रहरी तथ्यांकले झन् गम्भीर तस्वीर कोरेको छ—एकै महिनामा ४९ वटा जघन्य तथा गम्भीर अपराधका मुद्दा दर्ता भएका छन्। ज्यान सम्बन्धी १५, आत्महत्याका ९ र चोरीका ४ घटनाले समाजको असुरक्षित अवस्था झल्काउँछन्।
अझ रोचक त के भने, संगठित तथा आर्थिक अपराधले सबैलाई उछिनेको छ। ५८ वटा उजुरीमध्ये बैंकिङ कसुर मात्रै ३६ वटा—यसले आर्थिक अनुशासन कति धराशायी छ भन्ने देखाउँछ। जुवातास पनि ‘शून्य’मा छैन, एक मुद्दा दर्ता भएको छ।
सामाजिक अपराध पनि कम छैनन्—४९ वटा उजुरी दर्ता हुँदा महिला तथा बालबालिकामाथि हुने अपराध १३ पुगेका छन्। सवारी ज्यानका ३ र अन्य एक घटना पनि अभिलेखमा छन्।
जघन्य अपराधतर्फ कर्तव्य ज्यानका ३ र हातहतियारसम्बन्धी २ मुद्दा दर्ता भएका छन्, जसले अपराधको स्वरूप झन् भयावह बन्दै गएको संकेत दिन्छ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार जिल्लाभरिका सबै पालिकाबाट उजुरी आउने क्रम बढ्दो छ, तर अधिकांश घटना वीरगन्ज महानगरभित्र केन्द्रित छन्।
यसैबीच, फरार अपराधीमाथि भने प्रहरी केही कडा देखिएको छ—चालु मुद्दामा फरार रहेका १०२ जना पक्राउ परेका छन्।