गौर,१७ जेठ । मधेश प्रदेश सरकारले साना किसानहरुको बैंक खातामा सिधै १० हजार रकम पठाइदिने भएको छ । प्रदेश भित्र रहेका सीमान्तकृत तथा आर्थिक अवस्था कमजोर रहेका किसान र कृषि मजदूर वर्गको खाद्य सुरक्षा तथा गरिबी निवारणमा सहयोग हेतु मधेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम कार्यान्वयन कार्यविधि अन्तर्गत सिधै किसानको खातामा १० हजार रकम पठाइदिने निर्णय भएको हो ।
मानव विकास सूचकांकमा पछाडी परेका वर्ग तथा शहीद परिवार, राजनीतिक आन्दोलनका गम्भीर घाइते, फरक क्षमता भएका व्यक्ति, सीमान्तकृत, दलित, अल्पसंख्यक समुदाय, एकल महिला तथा कृषि पेशाबाहेक निर्वाहको अन्य कुनै उपाय नभएका साना किसानलाई प्राथमिकता दिएर यो रकम पठाइने प्रदेश सरकारले जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले तत्काल एक जिल्लाको एक पालिकामा परीक्षणको रुपमा यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।








