चन्द्रपुर, २६ असार । सोमबार चन्द्रपुर नगरपालिकाको कार्यालयमा दिनभर हंगामा भयो । चन्द्रपुर १० को दुइवटा सामुदायिक भवन निमार्ण उपभोक्ता समितिले नगरपालिकाक इन्जिनियर भरत प्रसाद श्रीवास्तव र ओभरसियर राजु चौधरीले ४ लाख रुपैया घुस लिएको आरोप लगाएपछि सरोकारवाला र उपभोक्ताले चन्द्रपुर नगरपालिका घेराउ गरेका थिए । नेपाली कांग्र्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरी, नेकपा एमालेका चन्द्रपुर नगर कमिटी अध्यक्ष एवम् मेयर प्रत्यासी शिव प्रसाद आर्चाय लगायत विभिन्न रानितिक दलका प्रतिनिधी सहितको टोलीले इन्जिनियर श्रीवास्तवको कार्यकक्षमा प्रमुख प्रशासकिय अधिकृत किरण निधी तिवारीलाई पैसा लिएको भनिएका चौधरीलाई हाजिर नगराएसम्म आफुहरु नजाने अडान लिएका थिए । अडान पनि प्रमुख प्रशासकिय अधिकृत तिवारी चन्द्रपुर ७ का वडाध्यक्ष विष्णु उप्रेतीलाई लिएर चौधरीको खोजीमा निस्किएका थिए । आरोपित चौधरी चन्द्रपुर ७ का वासिन्दा हुन् । चौधरीलाई खोज्न गएका उप्रेतीले करिब ३ घण्टा पछि आरोपित चौधरी मात्र लिएर आएनन् आफुसँगै ठुलो दलबलनै लिएर नगरपालिका आए । दिउँसो छलफलमा निकै नरम देखिएका उप्रेती राती दलबल सहित आएपछि उग्र रुपमा पेश भए । उनले आरोपित चौधरीको पक्ष लिएर उपभोक्ता समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुलाई थर्काउने काम मात्र गरेनन् घुस दिएको भरपाइ छ भन्ने आशयको कुरा पनि गरे । उनले चर्को स्वरमा बोल्दै उल्टै उपभोक्ता समितिले मापदण्ड अनुसार काम नगरेको आरोप लगाउँदै एकएक सेन्टिमिटरमा नाप्न आफुहरु जाने धमास पनि दिए ।
दिउँसो उपभोक्ता समितीको पक्षमा देखिएका उप्रेति राती आरोपितको पक्षमा उग्र रुपमा लागेपछि त्यहाँ उपस्थित राजनितिक दलका प्रतिनिधी र सर्वसाधरण छक्क परेका थिए । उनकै जोडबलमा उनीसँगै आएका केही व्यक्तिहरुले होहल्ला गरेपछि छलफल बिना निष्कर्षमा टुङ्गीएको थियो । ‘जनप्रतिनिधी आफै भ्रष्ट्रचारीलाई संरक्षण गर्दै भ्रष्ट्रचारीको पक्षमा कुर्लिएपछि कसरी हुन्छ भ्रष्ट्रचारमुक्त समाज’ एक स्थानियले प्रश्न गर्दै भने, ‘वडाध्यक्ष विष्णु उप्रेतीको भूमिका निकै शंकाष्पद देखिएको छ । अब उनीमाथि पनि छानविन हुनुपर्छ ।’ दिउँसोभरि सत्यतथ्य छानविनको माग गर्दै चन्द्रपुर नगरपालिकामा धर्ना बसेका नेकपा एमालेका चन्द्रपुर नगर कमिटी अध्यक्ष शिव प्रसाद आर्चायले बाहुबलको भरमा घटना सामसुम पार्न जनप्रतिनिधी आफै लागेको घटनाप्रति निराशा व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन् , ‘लडाइँ व्यक्तिको विरुद्ध हैन बेथितिको विरुद्ध हो तर के गर्नु घुस लिएको भर्पाई खोज्ने जनप्रतिनिधि भएपछि । ’ नेपाली कांग्र्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरीले पनि यसै घटनालाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन् प्रश्न गरेका छन् , ‘कता जादैछ चन्द्रपुर ? ’ वडाध्यक्ष उप्रेतीले भष्ट्रचारको आरोपितलाई जोगाउन खेलेको भूमिकाको अहिले चन्द्रपुरवासीले चौतर्फी आलोचना गरेका छन् ।








