चन्द्रपुर, २८ असार । चन्द्रपुर नगरपालिका कृषि बिकास शाखाबाट सञ्चालित चैते धानमा आत्मनिर्भर कार्यक्रम मार्फत कृषकहरुको सुबिधा र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने उद्देश्य सहित नगरपालिकाका बिभिन्न वडामा ४७ ओटा स्यालो टयूबेल जडान गरिएको छ । चन्द्रपुर नगरपालिकाको कृषि बिकास शाखा मार्फत संचालन भएको यस कार्यक्रममा बिभिन्न कृषि सहकारी, कृषक समूह, कृषि फर्म र ब्यक्तिगत कृषकहरुको उत्साहपूर्ण सहभागिता रहेको शाखाका प्रमुख सन्दिप देवकोटाले बताए । आर्थिक वर्ष २०७९÷८० मा केन्द्रबाट प्राप्त भएको बजेट शीर्षक “आत्मनिर्भरताको लागि कृषि उत्पादन” अन्तर्गत चैते धानमा आत्मनिर्भर कार्यक्रम मार्फत कृषकलाई साना सिचांई र उपकरण अनुदानमा वितरण गरिएको थियोे । प्रबिधिक अनुमान अनुसार साना सिचाइको यस कार्यक्रमबाट आगामी बर्ष थप १८८ बीघा जमीनमा चैते धान खेती हुने र ७५२ टन थप धान उत्पादन हुने अनुमान रहेको शाखा प्रमुख देवकोटाले बताए ।
चन्द्रपुर नगर क्षेत्रमा चैते धान उत्पादनको लागि प्रमुख समस्यामा सिचाई र प्रबिधिकको कमी देखिएकाले साना सिचाई र उपकरण अनुदान दिइएको हो िनगर क्षेत्र भित्र यस बर्ष कृषि विकास शाखाद्वारा ४७ ओटा साना सिँचाई स्यालो ट्युबवेल र ४ ओटा धान काटने मेसिन पनि कृषकहरु माझ ५० प्रतिशत अनुदानमा बितरण गरेको छ ।