बारा,२२ साउन ।
बाराको परवानीपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुख एकैपटक बिदा लिएर भारत भ्रमणमा निस्किएका छन् ।
गत सोमबारदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, लेखा शाखाका प्रमुख आयुश साह, योजना शाखाका प्रमुख रुपेश मण्डल र वडा नम्बर ५ बहुवरी स्वास्थ्य चौकीका प्रमुख हरिओम प्रसाद एकैपटक भारत भ्रमणमा निस्किएका हुन् ।
उनीहरू पालिकामा लामो समयदेखि निर्माण व्यवसायको काम गर्दै आएका ठेकेदार तुना साहसँग भारत भ्रमणमा निस्किएको कर्मचारीले बताए । निर्माण व्यवसायी ठेकेदार साह प्रमुख प्रशासकीय अधिकृत रौनियारका निकट व्यक्ति हुन् । पालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतलाई भारत भ्रमण सकिएर नआएसम्म प्रमुख प्रशासकीय अधिकृतले मौखिम रूपमा रेखदेखको जिम्मेवारी दिएको जिन्सी शाखाका अजय कुशवाहले जानकारी दिए ।
उनले भारत भ्रमणमा गएको जानकारी आफूले पनि पाएको, तर कति दिनको बिदा लिएको विषयमा जानकारी नरहेको बताए । भारतको जम्मुमा रहेको वैष्णोदेवी दर्शन गरेर फर्किने योजना रहेको स्वास्थ्य शाखाका प्रमुख प्रदीप राउतले जानकारी दिए ।
कर्मचारी स्रोतका अनुसार आर्थिक वर्ष ०७९÷८० सकिएर कामको चाप कम भएपछि निर्माण व्यवसायी ठेकेदार साहले कर्मचारीहरूलाई भ्रमणमा लगेका हुन् ।