गरुडा,२१ पुस । रौतहटको गरुडा नगरपालिका कार्यालयमा शुक्रवार तालाबन्दी गरिएको छ । विभिन्न ६ बुन्दे माग राख्दै गरुडा नगर उपप्रमुख पुनम देवि चौधरी सहित ६ जना वडा अध्यक्षहरुले शुक्रवार बिहान ८ बजे नगरपालिका कार्यालयको मुलगेट्मा तालाबन्दी गरि आन्दोलित भएका छन । उपमेयर चौधरी सहित वडा नम्बर २ का वडा अध्यक्ष कृष्णन्दन सहनी, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बीका सहनी, वडा नम्बर ६ का वडा अध्यक्ष रामबाबु चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष प्रविण सिंह यादव, वडा नम्बर ८ का वडा अध्यक्ष बशिष्ट यादव र वडा नम्बर ९ का वडा अध्यक्ष राजेश सहनी सहित नगरपालिकाका बहुमत कार्यपालिका सदस्यहरुले एकढिका भइ नगर प्रमुख कन्थमनि प्रसाद जयसवाल विरुद्ध आन्दोलनमा उत्रेका छन । पहिलो चरणको आन्दोलन स्वरुप उनिहरुले कार्यालयमा ताल्चा लगाइ कार्यालय अगाडि धर्नामा बसेका छन । कार्यालयमा लगाइएको ताल्चा खोल्न पुग्दा मेयर जयसवाल र आन्दोलनरत पक्ष बिच केहिबेर घम्साघम्सी भएको थियो । मेयर र आन्दोलनरत जनप्रतिनिधि समर्थकबीच विवाद उत्पन्न हुँदा केहि बेर गरुडाको अवस्था तनावग्रस्त भएको थियो । सो क्रममा दुबै पक्ष बीच बिबाद उत्पन्न भइ मुठ्भेडको स्थिती समेत सृजना भएको थियो तर इलाका प्रहरी कार्यालय गरुडा मातहतका प्रहरिले समझाइ बुझाइ गरी स्थितीलाई नियन्त्रणमा लिएको थियो । महिनौदेखी तलब भत्ताबाट बञ्चित रहेका करारका कर्मचारीलाई बाँकी रहेको तलब दिनुपर्ने, कार्यपालिकाको नियमित बैठक बोलाउनु पर्ने, नगरसभाका निर्णयहरु कार्यपालिका बैठकमा सार्वजनिक गर्नुपर्ने, गत आर्थिक वर्ष र यस चालू आर्थिक वर्षको सम्पुर्ण खर्चहरु कार्यपालिका बैठकमा पेश गर्नुपर्ने, जथाभाबी नियुक्त गरिएका करारका कर्मचारी खारेज गर्नुपर्ने र प्रत्येक वडामा समान स्तर बजेट बिनियोजन गर्नुपर्ने उनिहरुको माग छ । मेयर जयसवालले आफु सहित कार्यपालिकाको बहुमत सदस्यहरुलाइ पेलेर एक्लौटी रूपमा हिड्न थालेपछी बाध्य भएर आफुहरुलाइ आन्दोलनमा उत्रिनु परेको उपमेयर पुनम देवि चौधरीले बताएकी छन । कर्मचारी र आफुहरुले पाउने विभिन्न सेवा सुबिधा समेत मेयर जयसवालले कटौती गरेको उपमेयर चौधरीले गुनासो गरिन । त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनिले मेयर जयसवालले आफुहरु संग कुनै सल्लाह नै नगरि आफूखुसी बजेट बिनियोजन गर्न खोजेको तथा एक्लौटी शासन गर्न खोजेको कारण आफुहरु आन्दोलित बनेको बताएका छन । आफुहरुको माग बारे मेयर जयसवालले ठोस सहमती गरेपछी मात्र ताल्चा खोल्ने उन्ले बताए । यसैविच गरुडा नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले आफना निहित स्वार्थ पुरा नहुँदा उपमेयर चौधरी र ति वडा अध्यक्षहरुले विना कारण आन्दोलन गरी काममा बाधा अवरोध सृजना गर्न खोजेको आरोप लगाएका छन । उपमेयर चौधरी र धर्ना बसेका वडा अध्यक्षहरुले आआफ्ना वडामा एक, एक करोड बजेट दिन माग गरेको र आफुले त्यति बजेट दिन नसकिने बताएपछी उनिहरु पालिकामा तालाबन्दी गरी जनतालाई दुख दिने काम गरेको मेयर जयसवालले बताए । बजेट अभावका कारण त्यति ठूलो रकम दिन न सकिने जवाफ दिदा उनिहरुले आन्दोलनको नाटकमंचन गरेको उनले बताए । बार्ताको माध्य्मले आन्दोलन्कारीहरुको माग सम्बोधन गर्न आफू तयार हुदाँहुदै आफुलाइ असफल साबित गर्न उनिहरुले बलजबर्जस्ती प्रहरी प्रशासनको सहयोगमा नगरपालिकामा ताल्चा लगाएर पुरै पालिकालाई नै अस्तव्यस्त बनाएको मेयर जयसवालको भनाइ छ । पुलिस प्रशासनले पालिकामा लगाइएको ताल्चा खुलाइ जनताको कामकाजमा सहजिकरण गर्ने भुमिका खेल्नुको सट्टा प्रहरीले उल्टै उनिहरुलाई नै सहयोग र आफुलाइ असहयोग गरेको मेयर जयसवालले आरोप लगाए । प्रहरी प्रशासनको सेटिङमा उनिहरुले पालिकामा तालाबन्दी गरि नगरको बिकास निर्माण लगाएत कार्यमा अवरोध सृजना गर्न खोज्नु दुखद भएको उनले बताए । इलाका प्रहरी कार्यालय गरुडाका डिएस्पी ओम प्रकाश खनालको भुमिका राम्रो न भएको र खनालले सहयोग नगरेका कारण पालिकामा लागाइएको ताल्चा खुल्न नसक्दा जनताको कामकाज प्रभावित हुन पुगेको उनले दुखेसो गरे । बार्ता मार्फत समस्या समाधान गर्न आफू तयार रहेकोले आन्दोलनको कार्य्क्रम फिर्ता लिइ बार्तामा आउन उनले आन्दोलरत जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएस्पी ओम प्रकाश खनालले जनप्रतिनिधीहरुले लगाएको ताल्चा प्रहरीले खुलाउन न मिल्ने भएकोले आफुले बल प्रयोग नगरेको बताए । रौतहटका प्रहरी उपरीक्षक एसपी महेन्द्र कुमार श्रेष्ठले जनप्रतिनिधिबीचको झगडामा प्रहरीले शान्ति सुरक्षा मात्र गर्न सक्ने भएको हुँदा आफुहरुले मेयर जयसवाललाई सुरक्षा दिएको बताएका छन् । जनप्रतिनिधि बाहेक अन्य व्यक्तिले ताल्चा लगाएपछि मात्र प्रहरीले बल प्रयोग गरी धपाउन पाउने बताउँदै एसपी श्रेष्ठले जनप्रतिनिधिले ताल्चा लगाउँदा प्रहरीले बल प्रयोग गरी खुलाउन नमिल्ने भएको हुँदा त्यहाँ प्रहरीले शान्ति सुरक्षा मात्र गरेको बताए ।