रौतहट,२३ पुस । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको डाबरी पार्क यतिबेला संरक्षणको पर्खाइमा रहेको छ ।
जिपि उद्यानका नामले समेत परिचित यो पार्कमा अहिले पिकनिक खान आउने र दिउँसो घुम्न आउने आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।
सम्बन्धित निकायले पार्कको उचित व्यवस्थापन गर्न नसकेका कारण जिल्ला बाहिर र जिल्लाभित्रका विभिन्न स्थानबाट रमाउन आउनेहरूका लागि अहिले अप्ठ्यारो महसुस भइरहेको छ । जङ्गलको बीचमा रहेको डाबरी पार्कलाई उचित संरक्षण गर्न सके यहाँ बाहिरी पर्यटकसमेत ल्याउन सकिने स्थानीय बासिन्दाको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका लगायत अन्य निकायले उचित व्यवस्थापनमा चासो नदिएका कारण यतिबेला सो पार्कमा समस्या देखापरेको छ ।
डाबरी पार्कमा रहेको जरुवाको पानी चन्द्रपुर लगायत आसपासका क्षेत्रमा राम्रो र शुद्ध पानीका रुपमा परिचित रहेको छ । डाबरीको जरुवा पानीलाई संरक्षण गरेर यसको परिचय अझै फैलाउँदै लानुपर्ने स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर -६ ले डाबरी पार्कको उचित संरक्षणका लागि सक्दो सहयोग गरिरहेको सो वडाका वडा अध्यक्ष सहदेव केसीको भनाइ रहेको छ । आफ्नो वडामा पर्ने डाबरी पार्कको सौन्दर्यकरणमा वडाले सक्दो सहयोग गरिरहेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुर बजारबाट नजिकै रहेको डावरी पिकनिक स्टपका रूपमा समेत परिचित हुँदै गएको छ । शनिबार डाबरीमा पिकनिक खान आएका चन्द्रपुर- २ का स्थानीय बासिन्दा रामबाबु चौधरीका अनुसार डावारी पार्कलाई अझै व्यवस्थित बनाउनु पर्ने देखिन्छ । डावारी पार्कमा पछिल्लो समय शौचालयको अभाव हुँदा पिकनिक र घुम्न जानेहरूले जङ्गलमा जताततै दिशा पिसाब गरिदिनाले डाबरीको सौन्दर्यकरण बिग्रदै जान थालेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।
स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका युवा नेता श्याम हरि चौलागाईंले डाबरी पार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरूले सक्दो काम गरिरहेको जानकारी दिएका छन्। चारैतिर हराभरा जंगलको बीचमा रहेको डाबरी पार्कलाई व्यवस्थित गर्नका लागि आफूहरूले सम्बन्धित निकायमा कुरा पु¥याउने काम गरिरहेको र यसका लागि आफूहरू लागि परेको चौलागाईंको भनाइ रहेको छ ।
डाबरी पार्कमा रहेका दुईवटा शौचालयमा यतिबेला फोहोरै फोहोर रहेको छ । शौचालयको ढोका समेत अहिले बिग्रेको अवस्थामा रहेको छ । त्यसतर्फ चन्द्रपुर नगरपालिका र वडा नम्बर ६ को ध्यान जान नसकेको स्थानीय बासिन्दा भीम पहरीको भनाइ रहेको छ । डाबरी पार्कमा घुम्न तथा पिकनिक खान आउनेहरूलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले चासो दिनुपर्ने पहरीको भनाइ रहेको छ ।
जमिन मुनिबाट आउने जरुवा पानीका कारण समेत डाबरीको नाम जिल्लाभरि फैलँदो अवस्थामा रहेको छ । चन्द्रनिगापुरका कयौं स्थानीय बासिन्दाहरूले शुद्ध पानीका लागि डाबरीको जरुवा पानी लगेर खाने गरेको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले डाबरी पार्कको उचित व्यवस्थापनका लागि आफूले आगामी वर्षमा कदम चाल्ने बताएका छन् । डाबरी पार्कलाई पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको नगरप्रमुख काफ्लेको भनाइ रहेको छ । रौतहट जिल्लामा रहेका धेरै पर्यटकीय स्थलहरूमध्ये डाबरी समेत एक हो ।
तर यसको उचित समवर्धन र यसको प्रवर्धनका लागि सम्बन्धित निकायले चासो नदिएका कारण डाबरी लथालिङ्ग अवस्थामा पुगेको स्थानीयहरूको भनाइ रहेको छ । डाबरी पार्कको संरक्षण समिति बनाएर यसको संरक्षणका लागि काम अगाडि बढाउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।
हरेक शनिबार डाबरी पार्कमा रौतहट जिल्लाको विभिन्न स्थानबाट घुम्न तथा पिकनिक खानका लागि आउने सर्वसाधारणको चाप बढ्दै जान थालेको छ । तर व्यवस्थित पिकनिक खाने ठाउँ र शौचालयको अभावमा पिकनिक खान जाने र घुम्न आउनेहरू सौच गर्नका लागि जङ्गलमा यताउता भौतारिने गरेका छन् ।








