रौतहट,१८ चैत । जिल्लाको गौर लगाएतका बिभिन्न नाकाबाट चामल, मैदा, लुगा धुने डिटर्जेन्ट, लत्ताकपडा तथा तयारी पोसाक, हार्डवेयर सामान, इलेक्ट्रिक सामान, जुत्ताचप्पल, चिनी, मलखाद तथा केमिकल फर्टिलाइजर, डेरी उत्पादन र राँगाभैँसी तस्करी भएका छन ।
रौतडसम्म सीमा जोडिएका विभिन्न नाकाहरू यतिबेला तस्करका लागि स्वर्ग भएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा रौतहटका विभिन्न नाकाबाट तस्करी हुँदै आएको छ । सीमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीले बेलाबेलामा भारतबाट भन्सार छलेर आउने समान बरामद गरी भन्सार बुझाउनुले समेत तस्करी भइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समय भारतीय हरियो तरकारी बिना भन्सार नेपाल भित्रँदा यसले ठूलो राजस्व गुम्दै आएको छ । रौतहटका विभिन्न नाका प्रयोग गरेर सहजै नेपालभित्रने हरियो तरकारी रौतहटको चन्द्रनिगापुरसम्म छ्यापछ्याप्ती पाइने गरेको छ । यसको प्रत्यक्ष मारमा नेपाली तरकारी उत्पादक किसान पर्दै आएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेलाबेलामा तस्करीको समान बरामद गरेजस्तो गर्ने गरेको भए पनि हरियो तरकारी भने अहिलेसम्म बरामद नगर्नुले मिलोमतोमै सहजै नेपाल हरियो तरकारी भित्रने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
भारतबाट बिना भन्सार नेपालभित्रने हरियो तरकारीले यतिबेला रौतहटको बजार ओगटेको छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा रौतहटका तरकारी उत्पादक किसानहरूले उत्पादन गरेको तरकारी सस्तोमा बेच्नुपर्ने समस्या रहेको छ ।
तस्करी हुनेमध्ये औषधिजन्य वस्तु र मेसिनरी पार्टस्ले आयातमा ठूलो हिस्सा ओगटेको देखिन्छ । स्रोतका अनुसार रौतहटको बिभिन्न नाका भएर ठुलो परिणाममा भारतीय औषधी समेत आउने गरेको छ ।
नेपालमा उत्पादननै नहुने र नेपाल सरकारले भन्सार समेत लिन नमिल्ने सुर्तिजन्य बस्तु रौतहटका बजारमा छ्याप्छ्याप्ती पाँईने गरेको छ । भारतमा उत्पादन भएका र नेपालमा भन्सार लिनै नमिल्ने रजनीगन्धा तुलसी ,बिभिन्न गुटखा र भारतीय सुर्ति समेत सिमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा नेपाल भित्रने गरेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले परिचालन गरेका घुमुवा प्रहरीको मिलेमतोमा सुर्तिजन्य बस्तुको तस्करीमा संलग्न रहेकाहरुले मासिक रकम बुझाएर रौतहटका बजार मात्र नभएर काठमाण्डौ ,पोखरा लगाएतका स्थान सम्म पु¥याउने गरेको समाचारस्रोतले दावी गरेको छ । रौतहटमा कपडा तस्करीमा संलग्न गिरोहले सबैको सेटिङमा गौर स्थित मुख्य नाकाबाटै काम गर्दै आएका समाचार बेलाबेला सार्वजनिक हुदै आएकाछन् ।
कही समय पहिला गौरबाट चामलको बिलमा काठमाण्डौ पु¥याईएको झण्डै एक करोड बराबरको कपडा आन्तरिक राजश्व कार्यालयले सतुंगलबाट बरामद गरेपछि रौतहट स्थित सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोमा सो कपडा भारतबाट गौर भित्रिएको भन्दै आलोचना भएको थियो । २०८० चैत १८ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








