गौर,१३ बैशाख ।
पूर्वमन्त्री अफ्ताब आलमको मुद्दाको विषयमा जिल्ला अदालत गौरमा बहस सुरु भएको छ । आलम सर्वसाधारणलाई जिउँदै इटाभट्टामा पोलेको आरोपमा काठमाडौँस्थित कारागारमा रहेका छन् । उनको मुद्दाको बहस जिल्ला अदालत गौरमा सोमबारबाट सुरु भएको छ । सोमबारबाट बहस सुरु भएको भए पनि मङ्गलबार सार्वजनिक बिदा भएको र बुधबार दिनभर पनि बहस भएको थियो । आलमको पक्षमा बहस गर्नका लागि राजधानीबाट वकिलहरूको ताती नै लागेको छ । जाहेरीकर्ताको तर्फबाट भने जिल्ला सरकारी वकिलको कार्यालय गौरका वकिलले बहस गर्ने तालिका रहेको छ । बिहीबार पनि बहस सकिने सम्भावना नरहेको जानकारहरूले बताएका छन् । आलमको विषयमा जिल्ला अदालत गौरमा सुनवाई सुरु भएपछि आलम समर्थितहरूको जिल्ला सदरमुकाम गौरमा चहलपहल बढ्दै जान थालेको छ । संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो । सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए । उनीमाथि १८ कार्त्तितक २०७६ मा रौतहट जिल्ला अदालतमा ’विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरु,मा मुद्दा दायर भएको थियो। सो मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको हो । उनी २०७६ कार्त्तितक २९ गतेदेखि थुनामै छन् । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्च अदालतले २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो । त्यसपछि उनले सर्वोच्च अदालतमा आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका थिए। सर्वोच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी पुर्पक्षका लागि थुनामै छन् । यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंहका बाबु नारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम,मोबिन आलम,शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ । मुद्दामा आलमसहित मोहम्मद महताव आलम,शेख भदई,मोहम्मद मोविन आलम,शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ ।
२०८१ बैशाख १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








