चन्द्रपुर,२६ बैशाख ।
मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले आफ्नो मातहतका सरकारी कार्यालयमा अनुगमनलाई तीव्रता बढाएका छन् ।
मधेस प्रदेशका सरकारी कार्यालयहरूमा कर्मचारी नियमित रूपमा नआउने र समयमा नआउने गरेका कारण सर्वसाधारणले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री भट्टराईले सर्वसाधारणको भेषमा सरकारी कार्यालय अनुगमन गरेका छन् । उनले यसै क्रममा मङ्गलबार महोत्तरी जिल्लाको जलेश्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालयमा छड्के अनुगमन गरेका थिए । अनुगमनका क्रममा कार्यालयमा सरकारी कर्मचारीहरू समयमा उपस्थित नहुँदा सर्वसाधारणले दुःख पाएका थिय ।
घरेलु तथा साना उद्योगको कार्यालय जलेश्वरमा सर्वसाधारणको भेषमा अनुगमन गर्न पुगेका मन्त्री भट्टराईले त्यहाँ कर्मचारीको उपस्थिति न्यून पाएपछि कडा चेतावनी दिएका थिए । समयमा कार्यालयमा उपस्थित नहुने र विधामा बस्ने कर्मचारीहरूका कारण सर्वसाधारणले दुःख पाएको गुनासो आएपछि मन्त्री भट्टराई सर्वसाधारणको भेसमा सो कार्यालयमा अनुगमन गर्न पुगेका थिए । अनुगमनका क्रममा त्यहाँ कर्मचारीहरू नभेटिएपछि उपस्थित रहेका कर्मचारीहरूलाई मन्त्री भट्टराईले अब आइन्दा यस्तो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएका थिए । मधेस प्रदेशमै मन्त्रीस्तरमा यसरी सर्वसाधारणको भेषमा सरकारी कार्यालय अनुगमन गर्न पहिलोपटक मन्त्री भट्टराई पुगेका थिए । मधेस प्रदेशका सरकारी कार्यालयहरूमा यतिबेला कर्मचारीहरूको मनपरि तन्त्र बढेको भएपनि सम्बन्धित निकायको ध्यान जान नसक्दा सर्वसाधारणले शास्ती खेप्दै आएका छन् । मन्त्री भट्टराईको यो कामपछि उनको यतिबेला सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । मधेस प्रदेश सरकारका अन्य मन्त्रालय मातहतका सरकारी कार्यालयमा समेत यसैगरी मन्त्रीहरूले छड्के अनुगमन गर्नुपर्ने सर्वसाधारणले आवाज उठाउँदै आएका छन् । सर्वसाधारणको व्यापक गुनासो आएपछि आफूले सर्वसाधारणकै भेषमा महोत्तरीको जलेश्वरमा रहेको घरेलु तथा साना उद्योगको कार्यालयमा छड्के अनुगमन गरेको मन्त्री भट्टराईले जानकारी दिएका छन् । अनुगमनका क्रममा सो कार्यालयमा अधिकांश कर्मचारीहरू कार्यालय समयमा कार्यालयमा नआएको र कयौं कर्मचारीहरु बिदामा बसेको आफूले पाएको मन्त्री भट्टराईले तर एक्सप्रेसलाई जानकारी दिएका छन् । आफ्नो मन्त्रालय मातहतका कार्यालयहरूमा सर्वसाधारणको काम छिटो छरितो र सर्वसुलभ तरिकाले गराउनका लागि आफूले छड्के अनुगमन थालेको मन्त्री भट्टराईको भनाइ रहेको छ । मधेस प्रदेश सरकार मातहतमा रहेका रौतहट जिल्लाका सरकारी कार्यालयहरूमा समेत कर्मचारीहरू नियमित रुपमा उपस्थित नहुने र कार्यालय समयमै कार्यालयमा नपुग्ने गरेका कारण यहाँका सर्वसाधारणले शास्ती खेप्दै आएका छन् । मधेश प्रदेश सरकार मातहत रहेका रौतहटका सरकारी कार्यालयमा समेत छड्के अनुगमन गरेर कर्मचारी माथि कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने सर्वसाधारणको माग रहेको छ । मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई समिरले सुरु गरेको यो काम राम्रो भएको भन्दै सर्वसाधारणले उनको कामको प्रशंसा गर्न थालेका छन् । रौतहट क्षेत्र नम्बर ४ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित युवराज भट्टराई समिर पछिल्लो पटक गठित मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री भएका हुन् । उनले सर्वसाधारणको सेवा छिटो छरितो र पारदर्शी गर्नका लागि आफ्नो मातहतका सरकारी कार्यालय तथा कर्मचारीहरूलाई मन्त्री भएदेखि नै निर्देशन दिँदै आएका छन् ।