रौतहटको चन्द्रपुर नगरपालिकाको एक वडाको मनोमानीले विद्यार्थीको भविष्य यतिबेला अन्योलमा परेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा रहेको गोपालकुटी माध्यमिक विद्यालय बागमतीमा अध्ययनरत विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने काम भएको छ ।
चन्द्रपुर नगरपालिकाको शिक्षा समितिकै प्रमुखको मिलेमतोमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने काम भइरहेको छ ।
सो विद्यालय र चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षकै मिले मतोमा विद्यालयमा अध्ययनरत निजी कम्पनीको किताब अध्ययनका लागि दिइएको छ । विद्यार्थीहरूलाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका पुस्तक दिनुपर्नेमा सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई एक निजी कम्पनीको पुस्तक दिएर उनीहरूको भविष्यमाथि खेलबाड गरिएको पाइएको छ । नगरभरिकै अध्ययनरत विद्यार्थीहरूसँग करिकुलम नै नमिल्ने गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निजी कम्पनीको पुस्तक थमाइएको हो ।
नेपाल सरकारले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पुस्तक निःशुल्क प्रदान गर्दै आएको छ । तर गोपालकुटी माध्यमिक विद्यालय बागमतीले भने कमिसनको लोभमा एक निजी कम्पनीको किताब कक्षा १ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीको हातमा थमाएपछि उनीहरूको भविष्य अन्योलमा परेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतकै प्रत्यक्ष संलग्नतामा निजी कम्पनीको किताब ल्याएर सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातमा थमाइएको हो । चन्द्रपुर नगर क्षेत्रभरि रहेका सामुदायिक विद्यालयहरूमा जनक शिक्षा सामग्री केन्द्रको पुस्तक पठनपाठन भइरहेको अवस्थामा सो विद्यालयले भने निजी कम्पनीको पुस्तक विद्यार्थीको हातमा थमाएको हो ।
वडा अध्यक्ष र विद्यालय व्यवस्थापन समितिले कमिसनको लोभमा निजी कम्पनीको किताब विद्यार्थीको हातमा थमाएर उनीहरूको भविष्यमाथि खेलबाड गरेको हो ।
नियम कानुन सबैलाई लाग्नुपर्ने हो तर सो विद्यालयमा भने वडा अध्यक्षकै नियम कानुन चल्ने गरेको छ । आफूलाई छोटे राजाको संज्ञा आफैले दिने गरेका वडा अध्यक्षले कमिसनको लोभमा विद्यालय व्यवस्थापन समितिसँगको मिलेमतोमा निजी कम्पनीको पुस्तकहरु विद्यार्थीको हातमा थमाएको भन्दै यतिबेला त्यसको चर्को आलोचना भइरहेको छ ।
सो विद्यालयमा पछिल्लो समय विभिन्न बहानामा अनियमितता हुने गरेको भएपनि चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाले देश विद्यालयलाई छुन नसकेको पाइएको छ । यसरी विद्यार्थीको भविष्यमाथि नै सामान्य कमिसनका लागि खेलबाड गर्नु न्यायोचित भने अवश्य होइन ।
यस्तो गम्भीर विषयमा चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा समेत मौन बस्नुले उसको समेत प्रत्यक्ष संलग्नतामा यसरी कमिसनको लोभमा विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको पाइएको छ ।
नगरभरि नै जनक शिक्षा सामग्रीका पुस्तकहरू पठनपाठन भइरहेको अवस्थामा सो विद्यालयले मात्र निजी कम्पनीको पुस्तक ल्याएर विद्यार्थीको हातमा थमाएपछि अब अन्योलता छाएको छ । यस विषयमा चन्द्रपुर नगरपालिकाको कार्यपालिकाले नै एक्सन लिनुपर्ने अवस्थामा चुपचाप बस्नुले समेत सो वडामा मनोमानी मौलाएको सहजै अनुमान लगाउन सकिन्छ । जसको संलग्नतामा यस्तो काम भएको छ उनीहरू कारबाहीको भागीदार हुनुपर्दछ । तर कारबाही गर्ने चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाकै प्रत्यक्ष संलग्नतामा यस्तो काम हुनु अत्यन्त दुःखद हो ।
यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेहरू जोसुकै भएपनि उनीहरू कारबाहीको भागीदार हुनुपर्दछ र उनीहरुलाई उन्मुक्ति दिने काम कसैले गर्नु हुँदैन ।
२०८१ असोज ३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित सम्पादकीय








